भारतीय महिलाको पेटबाट निकालियो १३ वटा डटपेन, ५ वटा चम्चा र मैनबत्ती

0
Shares

काठमाडौँ, २४ भदौ । भारतमा एक महिलाको पेटमा १३ वटा डटपेन, पाँचवटा काठका चम्चा र एउटा मैनबत्ती भएको पत्ता लागेपछि शल्यक्रिया गरेर बाहिर निकालिएको चिकित्सकहरूले बताएका छन्।

पेटबाट निकालिएका वस्तुमध्ये एउटा डटपेन २५ सेन्टिमिटर लामो थियो। कुनै अखाद्य पदार्थ निलियो भने सामान्यतया पेट निकै दुख्ने, बान्ता हुने वा पखाला लाग्ने गर्छ।

तर पेटमा कडा वस्तुहरू हुँदा ती महिलालाई कस्तो खालको समस्या भयोरु अनि ती वस्तु कसरी बाहिर निकालियो र यसबारे शल्यक्रिया गर्ने चिकित्सकले बीबीसीलाई जानकारी दिएका छन्।

चिकित्सकहरूका अनुसार ती महिला आन्ध्र प्रदेशको पालनाडु जिल्लाकी निवासी हुन्। उनी ३३ वर्षकी भइन् र विवाहिता हुन्।

छातीमा देब्रेपट्टि निकै दुख्न थालेपछि परिवारले उनलाई एउटा निजी अस्पतालमा लगे। त्यहाँ उनलाई भर्ना गरियो।

चिकित्सकहरूले तुरुन्तै उनको ईसीजी र एन्डोस्कोपी गरे। माताश्री प्राइभेट हस्पिटलका डा रामचन्द्र रेड्डीले सञ्चारमाध्यमलाई बताए अनुसार ईसीजीमा सबै कुरा सामान्य देखियो तर एन्डोस्कपीका क्रममा उनको पेटमा डटपेन, चम्चा र मैनबत्तीजस्ता अखाद्य वस्तुहरू भएको देखियो।

डा रेड्डीका अनुसार तुरुन्तै सीटी स्क्यान गरेर त्यो कुराको पुष्टि गरेपछि एन्डोस्कपी र ल्यापरोस्कपी विधिबाट शल्यक्रिया गर्ने निर्णय गरियो। त्यसपछि ती सबै वस्तु बाहिर निकालियो।

चिकित्सकहरूका अनुसार बालबालिकाले प्रयोग गर्ने २५ सेन्टिमिटर लामो एउटा पेनले ती महिलाको पेटमा प्वाल पारिसकेको थियो।

त्यसैले न्यूमोमेडिआस्टिनमु भनिने अवस्था सिर्जना भएको थियो। डा रेड्डीले अहिले ती महिलाको अवस्था स्थिर रहेको जानकारी दिए।

ती महिलाले एक वर्षअघि पनि यसै गरी चारवटा पेन निलेको बताएकी थिइन्। त्यतिबेला पनि शल्यक्रिया गरेर ती वस्तु बाहिर निकालिएको थियो।

मानसिक स्वास्थ्यमा समस्या

विज्ञहरूका अनुसार यस प्रकारको समस्या प्रायजसो मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेका मानिसहरूमा देखिने गरेको छ।

डा रामचन्द्र रेड्डीले मानसिक रोगबाट पीडित मानिसहरूको स्याहारसुसार गर्नु र उनीहरूले औषधि खाए नखाएको हेर्नु अभिभावकको जिम्मेवारी भएको औँल्याए।

उनका अनुसार ती महिला मानसिक समस्याबाट पीडित थिइन् र उनलाई मनोचिकित्सककहाँ पठाइएको थियो। अहिले उनको उपचार भइरहेको छ।

चिकित्सकहरूका अनुसार २५ सेन्टिमिटर लामो वस्तु पेटमा पुग्नु निकै दुर्लभ कुरा हो। डा रेड्डीले आफ्नो करिअरमा आफूले पहिलो पटक कसैले त्यति लामो डटपेन निलेको देखेका बताए।

चिकित्सकहरूका अनुसार ती महिलाको आफ्ना बुबासँग झगडा भएको थियो। त्यसपछि उनले यी वस्तुहरू निलेकी थिइन्।

अखाद्य वस्तु निल्दा कस्तो समस्या हुन सक्छ

अखाद्य वस्तुहरू निल्दा यदि घोचेर भित्र कतै प्वाल परेन भने पनि आन्द्रा थुनिन सक्छ र बान्ता हुन सक्छ।

तर केही साना वस्तुहरू दिसाको माध्यमबाट बाहिर निस्किन सक्छन्।

कहिलेकाहीँ साना बालबालिकाले झुक्किएर सिक्का निल्छन्। धेरै पटक तिनका अभिभावकलाई पनि के भएको थियो भन्ने थाहा हुँदैन। पछि ती सिक्काहरू दिसासँगै बाहिर निस्किन्छन्।

डा रेड्डीका अनुसार आन्द्रामा प्वाल पर्‍यो भने बिरामीलाई सङ्क्रमण र घातक सेप्टिक शकु पनि हुन सक्छ।

गुन्टुरका डा साई कृष्णाले बीबीसीलाई बताएअनुसार यस्ता घटनाहरू कहिलेकाहीँ हुने गर्छन्। तीमध्ये ९० प्रतिशत मामिलामा बिरामीहरू मानसिक स्वास्थ्यसँग जोडिएका समस्याबाट पीडित हुन्छन्।

उनका अनुसार त्यस्ता बिरामीहरूले सबै वस्तुहरू एकैपटक निलेका हुँदैनन्। उनीहरूले धेरै पटक निलेका वस्तुहरू लामो समय पेटमै रहन सक्छन्।

तर ती वस्तुहरू पेटमा अड्किँदा मात्र पीडा हुन्छ। ती वस्तु पेटबाट तुरुन्तै निकाल्न एन्डोस्कपी र ल्यापरोस्कपीजस्ता विधिबाट शल्यक्रिया गरिन्छ।

डा कृष्णाले आफूले केही समयअघि एउटा बिरामीको पेटबाट २० वटा ब्याटरी निकालेको स्मरण गरे।

उनका अनुसार खानासँगै निलिएका रौँहरू पेटमा जम्मा हुन सक्ने र कहिलेकाहीँ शल्यक्रिया गरेर बाहिर निकाल्नुपर्ने अवस्था आउने बताए ।

बीबीसीको सहयोगमा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *