‘प्राकृतिक चिकित्साको महत्वलाई प्रदेश तथा स्थानीय तहमा फैलाउन जरुरी’

काठमाडौँ, २० असार । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राकृतिक चिकित्सालाई विस्तार गर्न सरकार लागि परेको बताएका छन् । उनले प्राकृतिक चिकित्साको महत्वलाई प्रदेश तथा स्थानीय तहमा समेत विस्तार गर्ने योजनामा आफूहरु रहेको जानकारी दिएका छन् ।

तेस्रो राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको सन्दर्भमा योग तथा प्राकृतिक चिकित्सक संघले आयोजना गरेको भर्चुअल (जुम) विधिबाट आयोजना गरिएको समारोहमा बोल्दै उनले योग तथा प्राकृतिक चिकित्साको महत्व कति विशिष्ट प्रकृतिको भएको बताउँदै यसलाई विस्तार गर्नु आजको आवश्यकता रहेको जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले एलोपेथिक भन्दा विशिष्टीकृत शैलीको यो उपचार पद्धतीलाई अंगाल्दा कुनै साइड इफेक्ट नहुने भन्दै यसलाई विस्तार गर्न सरकारले गर्नुपर्ने नीतिगत निर्णयका लागि आफू र आफ्नो मन्त्रालय तयार रहेको बताए ।

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफू एलोपेथिक उपचार गर्ने डाक्टर रहेपनि योग तथा प्राकृतिक चिकित्साप्रति निकै विश्वास रहेको बताए । यसले नसर्ने रोग सम्वन्धी समस्या जस्तै प्रेसर र मधुमेह जस्ता रोग नियन्त्रण गर्न सहयोग पुग्ने बताए । उनले पार्टी र व्यक्तिगत रुपमा आफू यसको विस्तार र विकासका लागि सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सक डा हरिप्रसाद पोखरेलले सरकारका मन्त्री र राजनीतिक दलका प्रतिनिधिहरुको प्रतिवद्धताले योग तथा प्राकृतिक चिकित्सा प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सरकारले तीन बर्ष अघि राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाउने घोषणा गरेको भन्दै अब यसलाई थप विस्तार गर्न सरकारी तहमा योग तथा प्राकृतिक चिकित्सा सम्वन्धी दरबन्दी राखेर सहयोग गर्नुपर्ने बताए ।

प्राकृतिक चिकित्सा अस्पताल संघका अध्यक्ष डा सुदर्शन बस्नेतले योग तथा प्राकृतिक चिकित्साको महत्व बताउँदै सरकारले यस सम्वन्धी दरबन्दीको व्यवस्थापन छिटो व्यवस्थापन गर्नुपर्ने बताए । उनले १५० भन्दा बढी भारत गएर प्राकृतिक चिकित्सा सम्वन्धी अध्ययन गरिरहेको भन्दै आगामी दिनमा नेपालमै यसको पढाई हुने व्यवस्था गर्न माग गरे ।

जुम विधिबाट गरिएको कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका एक सय बढी व्यक्तिको सहभागीता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *