आज १५ असार, पीसीआर परीक्षणमा पुग्ला त १० हजार ?

काठमाडौँ, १५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले १५ असार देखि दैनिक १० हजार बढीको पीसीआर विधिबाट कोरोना जाँच हुने बताएका थिए ।

पछिल्लो दुई दिन यताको परीक्षण संख्यापछि कतिपयले मन्त्री ढकालको घोषणा पुरा हुनेमा शंका व्यक्त गरेका छन् । तर स्वास्थ्य अधिकारीहरु घोषणा अनुसार प्रयोगशालाको पीसीआर परीक्षणको दैनिक क्षमता १० हजार नाघेको बताएका छन् । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले अहिले सञ्चालनमा आएको र एक दुई दिन भित्र सञ्चालनमा आउने प्रयोगशालाबाट प्रतिदिन कम्तिमा १० हजार ४८६ जनाको पीसीआर परीक्षण गर्न सकिने क्षमता रहेको बताए । उनले मन्त्री ढकालको १५ असार देखि दैनिक १० हजार परीक्षण गर्ने घोषणा अनुसार क्षमता बृद्धि भएको जानकारी दिए ।

कहाँ कसरी बृद्धि गरियो क्षमता ?
विभागका महानिर्देशक डा सिंहले केही प्रयोगशालाको क्षमता विस्तार भएको र केही नयाँ प्रयोगशाला थपिएकोले दैनिक १० हजार परीक्षणका लागि अव समस्या नहुने दावी गरे । त्यो कसरी सम्भव छ ? उनले यसरी हिसाव देखाए ।

प्रदेश नं १
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा समेत गरी दैनिक परीक्षण कम्तिमा ६५० देखि १००० सम्म ।

प्रदेश नं २
प्रदेश अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज र सगरमाथा अंचल अस्पताल राजबिराजको प्रयोगशालामा गरी दैनिक परीक्षण कम्तिमा ३०० देखि ५०० सम्म ।

बागमती प्रदेश
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, धुलिखेल अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, कीटजन्य अनुसन्धान केन्द्र हेटौडा, त्रिवि शिक्षण अस्पताल समेत गरी दैनिक परीक्षण कम्तिमा २५०० देखि ३००० सम्म ।

गण्डकी प्रदेश
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरी दैनिक परीक्षण कम्तिमा ३०० देखि ४०० सम्म ।

प्रदेश नं ५
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ समेत गरी दैनिक परीक्षण कम्तिमा १००० देखि १२०० सम्म ।

कर्णाली प्रदेश
प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरी दैनिक परीक्षणको संख्या ८०० देखि १००० सम्म ।

सुदूरपश्चिम प्रदेश
सेती अस्पताल धनगढीमा दैनिक परीक्षणको संख्या कम्तिमा २५० देखि ३००सम्म ।

नयाँ थपिएका
मेची अस्पताल, पाल्पा अस्पताल, दैलेख अस्पताल, डडेल्धुरा अस्पतालमा प्रति अस्पताल २००का दरले दैनिक परीक्षण संख्या ८०० थप हुने बताइएको छ ।

यस्तै विभागले  केही सरकारी तथा निजी अस्पतालको प्रयोगशालाबाट समेत कोरोना भाइरसको पीसीआर परीक्षण गराउने निर्णय गरेको बताएको छ ।

डा सिंहका अनुसार निजी क्षेत्रको मध्यपुर ठिमी अस्पतालले परीक्षणको स्वीकृति पाएको छ, जसबाट दैनिक करीब ५०० परीक्षण हुने अनुमान छ । यस्तै अरु दुई निजी अस्पताल सानेपास्थित स्टार अस्पताल र सिनामंगलस्थित केएमसी अस्पतालले पनि संकलित नमूना परीक्षण गर्ने स्विकृति पाएको छ । त्यस्तै अर्को सरकारी अस्पताल नेपाल प्रहरी अस्पतालमा पनि प्रयोगशाला सञ्चालनमा ल्याइदै छ । यी तीनवटामा गरी थप १५०० सम्म परीक्षण हुने क्षमता बढेको डा सिंहले बताए ।

विभागले स्वीकृति पाएको र पाउने क्रममा रहेको सरकारी अस्पताल नेपाली सेनाको अस्पतालको प्रयोगशालाबाट दैनिक ५००, सशस्त्र प्रहरीको अस्पतालबाट दैनिक २०० गरी दैनिक कुल ७०० सम्म परीक्षण हुने बताएको छ ।

यस्तै परीक्षणको लागि स्वीकृति पाउने क्रममा रहेका सीडीएलले दैनिक ४००, ह्याम्स अस्पतालले २५० र नेपाल मेडिसिटी अस्पतालले दैनिक २०० सम्म परीक्षण गर्ने विभागको दावी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *