कोभिड -१९ को कारण स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम असारको २२ र २३ गते

0
Shares

काठमाडौँ, १२ असार ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड – १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ ।

यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए । कोभिड १९ को कारणले बन्दाबन्दीले गत वैशाख ६ र ७ गते तय गरिएको सो कार्यक्रम मन्त्रालयले गत चैत २१ गते स्थगन गरेको थियो ।

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए खुवाउँदै आइरहेको छ ।

प्रत्येक वर्ष भिटामिन ए खुवाउने कार्यक्रममा २७ लाख तीन हजार ५२२ बालबालिका सहभागी हुने गर्दछन् । सोही कार्यक्रममा बालबालिकालाई जुकाको औषधि र बालभिटासमेत दिइने खुवाउने गरिएको जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डेले जानकारी दिइन ।

जुकाको औषधि एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ९३ हजार १५२ बालबालिकालाई खुवाउने गरिन्छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिन्छ ।

यस्तै १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो ।

अहिले ४१ जिल्लाका बालबालिकालाई खुवाउने गरिन्छ । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गर्दछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *