कोरोना भाइरसबाट भारतमा एकैदिनमा दुई हजारको मृत्यु


नयाँदिल्ली, ३ असार । भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार हजारको संख्यामा आएको छ ।

भारतका स्वास्थ्य अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ हजार ३ रहेको छ । अघिल्लो दिन मङ्गलबार बिहान उक्त मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ३८० जनाको मृत्यु भएको थियो । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ११ हजार ९०३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९७४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको अधिकारीहरुले जनाएका छन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि १ लाख ५५ हजार २२७ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ८६ हजार ३९५ जना संक्रमणमुक्त भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनाभाइरसका कारण मृतकको संख्या एक्कासी बढेकोप्रति चिन्ता व्यक्त गरेको छ ।

भारतमा प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै सङ्क्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । यस प्रदेशमा अहिलेसम्म १ लाख १३ हजार ४४५ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये कुल ५० हजार ५७ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ५७ हजार ८५१ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा ४८ हजार १९ जना रहेका छन् । राजधानी रहेको दिल्ली प्रदेशमा ४४ हजार ६८८ जना सङ्क्रमित भएका छन् ।     रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *