भारत : तलव नपाएको भन्दै डाक्टरहरुद्धारा सामुहिक राजिनामा दिने चेतावनी
नयाँदिल्ली, २९ जेठ । कोरोना संक्रमणले तिब्रता लिएकै बेला दिल्लीस्थित विभिन्न अस्पतालका डाक्टरहरुले सामुहिक राजिनामा दिने चेतावनी दिएका छन् ।
महामारीको बेला आफूहरुको तलव तीन चार महिना देखि रोकिएको भन्दै उनीहरुले सामुहिक राजिनामा दिने चेतावनी दिएका हुन् । हिन्दु राव हस्पिटल, कस्तुरबा हस्पिटलका चिकित्सकहरुले तीन चार महिना देखि आफूहरुले तलव नपाएको बताएका छन् ।
हिन्दु राव हस्पिटलको रेजिडेन्ट डाक्टर एसोसिएशनले मेडिकल सुपरीटेन्डेनलाई चिठी लेखेर चार महिना देखि तलव रोकिएको विषयमा ध्यानाकर्षण गराएको छ । उनीहरुले ध्यानाकर्षण पत्रमा तलव नपाए आफूहरु नियमित रुपमा काममा आउन बाध्य नहुने बताएका छन् । उनीहरुले रोकिएको तलव उपलव्ध गराउन मेडिकल कलेज तथा अस्पतालहरुलाई एक साताको अल्टिमेटम दिएका छन् । ‘यदि १८ जुन सम्म तलव आएन भने सामुहिक राजिनामा दिनेछौँ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
यस्तै कस्तुरबा अस्पतालका रेजिडेन्ट डाक्टर एसोसिएशनका अध्यक्ष डा सुनिलकुमारले भने, ‘हामीले पनि पछिल्लो तीन महिना (मार्च, अप्रिल मे) को तलव पाएका छैनौँ, यो समय हडताल गर्ने पनि होइन त्यसैले हामीले सामुहिक राजिनामा दिने निर्णयमा पुगेका छौँ ।’
दिल्लीमा अहिलेसम्म ३२ हजार ८१० जनामा कोरोना संक्रमण देखिएको छ । यसैको संक्रमणबाट ९८४ जनाको ज्यान गएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




