अहिले खर्च होइन, कोभिड –१९ को चिन्ता गरौँ : प्रधानमन्त्री ओली

काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि भएको खर्चमा नभई कोभिड– १९बारे चिन्ता लिन सांसदसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको शीर्षकमाथि उठेका प्रश्नको जवाफका क्रममा उनले भने, कहीँ कतै दुरुपयोग भएकै हुन सक्दैन भनेर म दावी गर्दिन, भएकै छ भनेर सोच्नुपर्ने स्थिति पनि देख्दिन, अहिले कोरोना रोकथाम र उपचारका लागि भएको खर्चको हिसाबको चिन्ता नगरौँ, कोभिड– १९ को चिन्ता गरौँ ।

राष्ट्रिय संकटका बेला, सिङ्गो दुनियाँमा यस्तो विपद् आइलागेका बेला यदि कसैले भ्रष्टाचार गर्छ भने कुनै हालतमा सह्य हुन नसक्ने बताउँदै उनले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने दृढता व्यक्त गरे ।

हिसाब लेखापरीक्षक र आन्तरिक लेखा परीक्षण

कोरोना नियन्त्रण र रोकथामका लागि भएको खर्चको हिसाब महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र आन्तरिक लेखा परीक्षकबाट हुने व्यवस्था रहेको जानकारी दिँदै उनले अहिले भएको खर्चमा पारदर्शिता कायम गरिने भएकाले चिन्ता नगर्न समेत सांसदलाई आग्रह गरे ।

नेपालमा हालसम्म पहिचान भएकामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्तिमा कोभिड –१९ संक्रमण भेटिएको बताउँदै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा परीक्षण गर्नुपरेका कारण केही अव्यवस्था देखिए पनि व्यवस्थापनमा सुधार ल्याउने प्रयास भइरहेको जानकारी दिए ।

कोभिड –१९ संक्रमणलगत्तै भारतबाट हालसम्म दुई लाख २२ हजार ६१४ जना नेपाली स्वदेश आएकामा हाल दैनिक पाँच हजार हाराहारीमा आएका छन् । एकलाख ६५ हजार ७७५ जना क्वारेन्टाइनमा छन् । ठूलो संख्यामा एकैपटक क्वारेन्टिनमा राख्नुपरेको र पिसिआर टेष्ट गर्नुगरेको बताउँदै प्रधानमन्त्री ओलीले हालसम्म चार हजार ८५ जनामा कोरोना संक्रमण भेटिएको र संक्रमितमध्ये ५८४ जना उपचारपछि निको भएर घर फर्केको जानकारी दिए ।

नेपालीमा प्रतिरोध क्षमता राम्रो
मृत्यु भएका १५ जना कोरोनाकै मात्रै कारणबाट नभई कतिपय अरु रोगबाट सिकिस्त हुँदा कोरोना संक्रमण भएको बताउँदै उनले मृत्यु हुनेको संख्याको तुलनामा निको भएर फर्कनेको संख्या निकै राम्रो भएको उल्लेख गरे ।

नेपालीमा प्रतिरोध क्षमता र उपचारको प्रबन्ध निकै राम्रो भएकाले संक्रमित र अरु देशको तुलनामा मृत्यु हुनेको संख्या आगामी दिनमा ठूलो नहुने जिकिर गरे । विदेशमा १४ हजार ४१४ गैरआवासीय नेपालीमा कोरोना संक्रमण रहेको तथा १३ मुलुकमा १२७ नेपालीको निधन भएको, अहिले दैनिक पाँच हजारको संख्यामा कोरोना परीक्षण भइरहेको र नयाँ प्रविधिको प्रयोग गर्ने विषयमा सरकारले तदारुकताका साथ काम भइरहेको जानकारी प्रधानमन्त्रीले दिए ।

उनका अनुसार अहिलेसम्म पिसिआर प्रविधिबाट एक लाख ६ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइनको क्षमता दुई लाख ३५ हजार ५९६ तयार गरिएको छ । सरकारी र निजी क्षेत्रका गरी अहिले मुलुकमा आठ हजार ३३ सामान्य शय्या र नौ सय भेन्टिलेटर छन् । एक सय चौरानब्बे अस्पतालमा एक हजार सात सय आइसियुको व्यवस्था छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *