३० करोड बालबालिकालाई खोप दिन सात अर्ब युरो सङ्कलन

बीबीसी । इन्टरनेटको माध्यमबाट गरिएको खोपसम्बन्धी विश्वव्यापी सम्मेलनमार्फत् ३० करोड बालबालिकालाई खोप दिनका लागि सात अर्ब युरो जुटेको छ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ग्याभी खोप सम्मेलनका क्रममा रकम उपलब्ध गराउन जनाइएको प्रतिबद्धताबाट ८० लाख जीवन जोगिने बताए। उक्त रकमले पोलियो, भ्यागुते रोग र दादुरा रोगविरुद्धको खोप दिनमा सघाउने बताइएको छ।

प्रधानमन्त्री जोनसनले रोगमाथि मानवताको जित हाम्रो जीवनकालकै सबैभन्दा ठूलो साझा प्रयास भएको बताए।

साझेदारी
विश्वका अति विपन्न समुदायहरूमा खोप कार्यक्रमका लागि सघाउने ग्याभी नामक गठबन्धनका लागि सम्मेलनले रकम जुटाएको हो।पचासभन्दा बढी देश र बिल गेट्सजस्ता दाताको सहयोगमा लक्ष्यभन्दा बढी रकम सङ्कलन हुने भएको हो। सुरुमा करिब ६ अर्ब युरो जुटाउने लक्ष्य लिइएको थियो।

बिल गेट्सले आफ्नो संस्थाको तर्फबाट १।३ अर्ब युरो दान गरे भने प्रधानमन्त्री जोनसनले आगामी पाँच वर्षभित्रमा १।६५ अर्ब युरो उपलब्ध गराउने प्रतिबद्धता जनाए।

सो संस्थालाई सबैभन्दा बढी रकम उपलब्ध गराउने दाताका रूपमा यूके भएको छ। कोरोनाभाइरस महामारीको प्रकोपबाट निस्किन विश्वले सङ्घर्ष गरिरहँदा खोप बारेको सम्मेलन भएको हो।

उक्त मञ्चलाई प्रयोग गर्दै जोनसनले कोभिड-१९ को खोप पत्ता लगाउने सामूहिक प्रयासलाई पुनः नवीकरण गर्न अपील गरे।

उनले भने, ‘जसरी हामीसँग नेटोजस्तो सैनिक गठबन्धन छ जहाँ देशहरू सामूहिक सैनिक प्रतिरक्षाको विकासमा सहकार्य गर्छन्। त्यसैगरी हामीलाई साझा शत्रुको रूपमा रहेको रोगविरुद्ध लड्न सहकार्य र सामूहिक प्रतिरक्षाको खाँचो छ।’

अन्तर्राष्ट्रिय विकासमन्त्री एनीम्यारी ट्रेभिलियानले उपलब्ध हुनासाथ चाहिनेलाई कोरोनाभाइरस विरुद्धको खोप समयमा उपलब्ध गराउन यूके सक्षम रहेको बताइन्।

ट्रम्पको आश्चर्यजनक उपस्थिति
इन्टरनेटको माध्यमबाट गरिएको सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आश्चर्यजनक रूपमा उपस्थिति जनाए।

गत हप्ता ट्रम्पले राष्ट्रसङ्घीय स्वास्थ्य निकाय विश्व स्वास्थ्य सङ्गठनसँग सम्बन्ध विच्छेद गरेका थिए। उक्त कदमसँगै अमेरिकाले डब्ल्यूएचओलाई उपलब्ध गराउने ३१७ लाख सहायता रोकिने भएको छ।

ट्रम्पले डब्ल्यूएचओ र चीन कोरोनाभाइरस सङ्क्रमण रोकथाममा विफल भएको आरोप लगाएका थिए।

डब्ल्यूएचओसँग सम्बन्ध तोड्ने ट्रम्पको कदमको अन्तर्राष्ट्रिय रूपमा आलोचना भइरहेको छ किनकि उनले त्यो कदम त्यति बेला चालेका छन् जति बेला विश्व कोरोनाभाइरस महामारीको बीचमा छ।

तर सम्मेलनमा नरम देखिएका ट्रम्पले भने, ‘कोरोनाभाइरसले कुनै सिमाना नभएको र त्यसले कसैलाई भेदभाव नगरेको देखाएको छ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *