प्रदेश नं ५ मा थपिए १९ जना कोरोना संक्रमित, स्वास्थ्य मन्त्रालयको अद्यावधिक विवरणमा छुट्यो

4
Share

बुटवल, १९ जेठ । प्रदेश नं ५ मा आइतबार र सोमबार गरी थपिएका १९ जना कोरोना संक्रमितको विवरण अध्यावधिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छुटाएको छ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा हिजो गरिएको परीक्षणमा पाल्पामा ३, रुपन्देहीमा २ र कपिलवस्तुमा १ गरी कुल ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

हिजो दिउसो नै रिपोर्ट काठमाडौँ पठाएपनि त्यसको अध्यावधिक गरेको नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले बतायो । यस्तै प्रादेशिक प्रयोगशालामा आज गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण भएको थियो ।

यसको विवरण पनि केन्द्रमा पठाइएको प्रयोगशाला स्रोतले जनाएको छ । तर अपरान्ह सवा ४ बजेको कोरोना अपडेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो विवरण उल्लेख गरेनन् ।

प्रयोगशाला स्रोतले सोमबार (आज) मात्रै पाल्पामा २, कपिलवस्तु ७, गुल्मी १, रुपन्देही २ र नवलपरासीमा १ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।

यो समेत जोडदा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ हजार ८१७ पुग्नेछ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलव्ध गराउने विवरण आफूहरुले अध्यावधिक गर्ने भन्दै सार्वजनिक गर्ने विवरण पनि त्यहाँबाट उपलव्ध भएन अनुसार हुने बताए ।  उनले पाल्पा जिल्लामा संक्रमण देखिएको बारेमा आफूलाई जानकारी नआएको बताए ।

‘पाल्पामा पनि देखिएको हो भने त नयाँ जिल्ला भयो, यस बारेमा त हामीलाई जानकारी हुनुपर्दथ्यो । किन भएन, म फेरी बुझ्छु,’ उनले भने ।

कोरोनाको सबै सूचना प्रदेशले समेत स्वास्थय सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)लाई जानकारी गराउने र त्यहाँबाट मात्रै मन्त्रालय र अन्य निकायमा वितरण हुने प्रक्रिया छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *