कोरोना जितेर वीरगञ्जमा थप २१ जना डिस्चार्ज
पर्सा, १४ जेठ । लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि पर्साको वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा कोरोना भाइरस (कोभिड – १९) को उपचार गराईरहेका थप २१ जना डिस्चार्ज भएका छन् । नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ जना मंगलबार राती डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।
कोभिड – १९ अस्पतालका संयोजक डा. उदय नारायण सिंहले मंगलबार राती डिस्चार्ज हुनेमा ५ जना महिला र १६ जना पुरुष रहेको बताए । तिनैमध्ये तीन जना भने बालबालिकाहरु हुन् । डिस्चार्ज हुनेसबै १२ देखि १४ दिन अस्पताल बसेको बताए ।
नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले कोरोना विशेष अस्पतालमा अब ९ जना बाँकी रहेको बताए । उनले भने, ‘६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । २१ जना डिस्चार्ज हुनुभयो अब अस्पतालमा ९ जना मात्रै संक्रमित उपचाररत छन् ।’
यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।
पर्सामा २१ सहित देशभर कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १७६ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]