बाँकेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा कोरोना संक्रमण

- नेपाली हेल्थ

नेपालगञ्ज, ११ जेठ । बाँकेमा कोरोना सङ्क्रमण रोकथामका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ । खजुरा गाँउपालिकामा स्वास्थ्यकर्मी र नरैनापुर गाँउपालिकामा सुरक्षाकर्मीमा संक्रमण देखिएको हो ।

नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत एक प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गाउँपालिकामा भेटिएका २७ सङ्क्रमितमध्ये एक प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । एक जनामा कोरोना संक्रमण देखिएपछि चौकीमा रहेका अन्य सुरक्षाकर्मीलाई क्वारेन्टिनमा आज पिसिआर परीक्षणको तयारी भएको छ ।

यता खजुरा गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेका खजुरा –५ का एक युवकमा सङ्क्रमण देखिएको भोलिपल्ट स्वास्थ्यकर्मीमा सङ्क्रमण देखापरेको खजुराका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

नरैनापुरमा शनिबार कोरोना सङ्क्रमण देखिएका प्रहरीसहित २७ जनालाई नेपालगञ्ज ल्याएर खजुरास्थित कृषि अनुसन्धान केन्द्रमा तयार गरिएको आइसोलेशन केन्द्रमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रहरी चौकी कालाफाँटा बन्द
कोहलपुर– प्रहरीचौकीमा कार्यरत प्रहरीलाई कोरोना पोजेटिभ देखिएपछि प्रहरीचौकी कालाफाँटा बन्द गरिएको छ ।

बाँकेको प्रहरीचौकी कालाफाँटामा कार्यरत २३ वर्षीय एक जनालाई कोरोना सङ्क्रमण देखिएपछि प्रहरीचौकी कालाफाँटा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सिंहले जानकारी दिए । कालाफाँटा प्रहरीचौकीमा नौ जना कार्यरत छन् ।


Facebook Comment


थप समाचार