स्वास्थ्य मन्त्रालयमा अब आधा कर्मचारी, दिन बिराएर डिउटीमा

काठमाडौँ, ७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब आधा कर्मचारीबाट नियमित काम गर्ने भएको छ । कोरोना जोखिम बढेसंगै भिडभाड कम गर्न भन्दै मन्त्रालयले आधा मात्रै कर्मचारी बोलाउने निर्णय गरेको हो ।

मन्त्रालयले उपसचिव तहभन्दा मुनिका कर्मचारीहरुलाई एक दिन विराएर डिउटीमा आउने व्यवस्था मिलाएको छ ।

मन्त्रालय कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले धेरै कर्मचारी आउँदा भिडभाड हुने र जोखिम थप बढ्ने भएकोले आधा कर्मचारीलाई मात्रै मन्त्रालय आउने व्यवस्था मिलाएको बताए । ‘अघिल्लो दिन एउटा टोलीले डिउटी गर्छ । अर्को दिन सो टोली विदामा हुन्छ र अर्को टोली काममा आउँछ । यसरी मिलाएका छौँ,’ उनले भने ।

मन्त्रालयले यो महिना भरिका लागि यस्तो आलोपालो सिस्टम बसाएको छ ।

पछिल्लो समय काठमाडौँ सहित देशभर कोरोना संक्रमणले तिब्रता पाएको छ । अझ कोरोनाविरुद्धको उपचार तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरुमा नै संक्रमण देखिन थालेपछि मन्त्रालय थप सशंकित बनेको हो ।

मन्त्रालयले नयाँ व्यवस्था उपसचिव तह भन्दा मूनिका कर्मचारीलाई मात्रै लागू गरेको हो ।

यता स्वास्थ्य सेवा विभागले पहिले पालो सिस्टम नलगाएपनि पहिले देखि नै थोरै कर्मचारीबाट काम चलाएको बताएको छ । विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ भन्छन् , ‘कुनै महाशाखामा ६० प्रतिशत विदामा छन् । कुनैमा ७० प्रतिशत छन् । कतै अलि धेरै नै आएर काम पनि गरिरहेका छन् । आवश्यकता हेरिहेरी विदामा बस्ने र काम गर्ने भइरहेको छ ।’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *