धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको कोरोना रिपोर्ट पोजेटिभ

काठमाडौँ, ३ जेठ । काभ्रेस्थित धुलिखेल अस्पतालमा विहीबार राती मृत्यु भएकी २९ बर्षीया सुत्केरीमा कोरोना संक्रमण भएको पाइएको छ । अस्पतालले गरेको आरडीटी तथा पीसीआर विधिको परीक्षणमा ती महिलाको रिपोर्ट पोजेटिभ आएको हो । अस्पतालले थप विश्वसनीय हुन् स्वावको नमूना टेकुस्थित राष्टिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको छ ।

अस्पतालका निर्देशक डा राजेन्द्र कोजुले धुलिखेलको कोरोना प्रयोगशालामा दुबै विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे । उनले थप स्पष्टताका लागि टेकुको प्रयोगशालामा नमूना पठाएको बताए ।

‘गत विहीबार रातीको कुरा हो । सिन्धुपाल्चोक बाह्रविसेबाट ल्याएको सुत्केरी हुनुहुदो रहेछ । अवस्था गम्भीर थियो । गेटबाट इमरजेन्सीमा लगेर हाम्रा चिकित्सक साथीहरुले सीपीआर दिएर बचाउने प्रयास गर्नु भयो तर सकिएन । लक्षण मिलेकोले हामीले तत्कालै नमूना झिकेर परीक्षणमा पठायौँ । आरडीटीको तत्कालै नतिजा आयो । पीसीआरको आज विहान पोजेटिभ आयो,’ उनले भने ।

अस्पतालले उनको उपचारमा रहेका चिकित्सक तथा नर्स सहितको टिमलाई क्वारेन्टाइनमा राखिसकेको छ । सुत्केरीसंग आएका आफन्तलाई पनि छुट्टै राखिएको डा कोजुले बताए । आवश्यक निर्णय गर्न कोरोना संक्रमण जिल्ला समन्वय समितिको अहिले बैठक बसेको छ ।

सुत्केरी महिला ९ दिन अघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी हुन् । उनी २३ बैशाखमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी हुन् । २४ बैशाखमा सुत्केरी र २५ बैशाखमा डिस्चार्ज भएर सिन्धुपाल्चोक गएकी थिइन ।

सामान्य सुत्केरी भएर घर पुगेपछि स्वासप्रसावमा समस्या देखिएपछि गत विहीबार धुलिखेल ल्याइएको थियो । काठमाडौँ ल्याउँदै गर्दा अवस्था जटिल भएपछि धुलिखेल अस्पतालमा लगेको आफन्तलाई उदृत गर्दै अस्पतालका चिकित्सकले बताएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *