भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना


नयाँ दिल्ली,२९ वैशाख । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको बताइएको छ ।

उनी अस्पताल भर्ना हुनुभएको उक्त अस्पतालले पुष्टि गरेको छ । सो समाचारको भारतीय काँग्रेसले पनि पुष्टि गरेको छ । छाती दुखेर असहज महसुश भएपछि उनलाई भर्ना गरिएको अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई ऐम्स अस्पतालको मुटुरोगसम्बन्धी समस्या देखिएकोले उक्त अस्पतालको मुटु रोग विभागमा राखेर उपचार सुरु गरिएको छ ।

पूर्वप्रधानमन्त्री सिंहको प्रारम्भिक जाँचका क्रममा स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी ८७ वर्षको हुन् ।

पूर्वप्रधानमन्त्री सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।यसअघि पनि डा।सिंहको मुटुको वाइपास सर्जरी गरिएको थियो । सन् २००९ मा उहाँको मुटुको वाइपास सर्जरी भएको सो अस्पतालले जानकारी दिएको छ ।

यसपटक छाती दुखेपछि उहाँलाई आइतबार राति अस्पताल ल्याइएको र अहिले स्वास्थ्य अवस्था सामान्य नै रहेको सो अस्पतालले सोमबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

भारतका एकजना प्रख्यात अर्थशास्त्री मानिने डा।सिंह हाल राजस्थानबाट भारतीय संसदको माथिल्लो सदनका लागि सांसद छन् । उनले सन् २००४ देखि सन् २०१४ सम्म लगातार दुई पटकसम्म भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

यसैबीच उनको स्वास्थ्यसम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले चासो व्यक्त गरेका छन् । उनले पूर्वप्रधानमन्त्री डा।सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

मुख्यमन्त्री केजरीवालले पूर्वप्रधानमन्त्री डा।सिंहको उपचारमा कुनै कमी हुन नदिन उक्त अस्पताललाई निर्देशन पनि दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।    रासस/एएनआइ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *