कोशी अस्पतालमा उपचार गराएका ६ जना भारतीय कोरोना जितेर डिस्चार्ज

 विराटनगर २४ बैशाख । कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः ६ जना कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै भारतीय नागरिक हुन् ।

उदयपुरको भुल्केस्थित एक मस्जितमा रहेका उनीहरुमा कोरोना संक्रमणपछि गत ५ र ६ बैशाखमा कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ल्याएर भर्ना गरिएको थियो ।

उनीहरुसँगै संक्रमण पुष्टि भएका बाँकी ७ जनामा अझै पोजेटिभ देखिएपछि उनीहरुको अस्पतालमै राखेर उपचार भईरहेको छ ।
अस्पतालले १३ जना संक्रमित अस्पताल भर्नापछिको १४ दिनमा पहिलो स्वाब गत शुक्रबार संकलन गरेको थियो ।

पहिलो स्वाबमा ६ जनामा नेगेटिभ र ७ जनामा पोजेटिभ देखिएको थियो । त्यसपछि दोस्रो र तेस्रो स्वाब संकलन गरेर परीक्षण गर्दा समेत ६ जनामा नेगेटिभ नै देखिएपछि उनीहरुको डिस्चार्ज गर्न सिफारिस गरिएको फिजिसियन डा दिपक सिग्देलले जानकारी दिए । उनका अनुसार डिस्चार्ज भएकाहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ ।

विराटनगर रानीस्थित मदर्सामा राखेर अवस्था निगरानी गरिने भएको छ । सामान्य अवस्था रहिरहे १४ दिनपछि एउटा आरडिटी परीक्षण गरेर उहाँहरुलाई कोरोना भाइरस मुक्त प्रमाणपत्र दिनेछौं, डाक्टर सिग्देलले भने, कुनै समस्या बीचमा देखिए तत्काल परीक्षण हुनेछ ।

अस्पतालबाट डिस्चार्ज गरिएका विरामीलाई विदाई तथा शुभकामना दिन आउनु भएका प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले पुनः संक्रमण देखिने क्रम बढेका कारण डिस्चार्जपछि सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्न आवश्यक रहेको बताए ।

अस्पतालले उनीहरुलाई पुष्पगुच्चा दिएर विदाई गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *