कोरोना नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसंग समन्वय गर्ने टोली फेर्दै स्वास्थ्य मन्त्रालयल

काठमाडौँ, १८ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल कोरोना नियन्त्रणका लागि प्रदेश तथा स्थानीय तहसंग समन्वय गर्न खटाएको टोली परिवर्तन गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत चैतको अन्तिम साता सातवटै प्रदेश तथा स्थानीय तहमा सहसचिवको नेतृत्वमा खटाएको पुरानो टोलीलाई फिर्ता गरी त्यो ठाँउमा नयाँ टोली पठाउने निर्णय गरेको हो ।

गत चैतको अन्तिम साता सातवटा प्रदेशमा सहसचिव तहको स्वास्थ्यकर्मीको नेतृत्वमा प्रति टोली तीन जनाको दरले २१ जनालाई खटाएको थियो । उनीहरुले तीनसाता धेरै फिल्डमा विताएपछि अर्को टोलीले सिफ्ट गर्न लागेको मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले बताए ।

उनका अनुसार नयाँ टोलीमा एघारौँ तहको नेतृत्वमा एक जना दशौँ तहको गरी दुई दुई जनाका दरले स्वास्थ्यकर्मीलाई फिल्डमा खटाउने निर्णय भएको छ ।

प्रदेशमा पहिले को को थिए ? अहिले को को जाने भए ?

सहसचिव विष्टका अनुसार   प्रदेश नं १ मा डा.  विवेककुमार लाल र कविता पाण्डेको टोली पठाइदै छ । उनीहरु पुगिसकेपछि त्यहाँ यसअघि खटिएका डा. सुधा देवकोटा र राजकुमार पोखरेल फिर्ता हुनेछन् ।

यस्तै प्रदेश नं २ मा आरपी विच्छा र डा सुरेन्द्र चौरसियाको टोली खटिनेछ । उनीहरु गइसकेपछि मोहम्मद दाउदको नेतृत्वमा रहेको डा प्रकाश साह र रणवीर यादवको टोली फर्किने छ ।

यस्तै बागमती प्रदेशमा डा राधिका थपलिया र डा झलक गौतम पठाउँदैछ । उनीहरु पुगिसकेपछि रोशनी लक्ष्मी तुईतुईको नेतृत्वमा रहेको यसोदा अर्याल र विजय क्रान्ति सहितको टोली फर्किनेछ ।

गण्डकी प्रदेशमा प्राविधिक कारणले व्यक्ति छनौट भइनसकेको विष्टले बताए । ‘पहिले एउटा टोली तयार गरिएको थियो तर त्यो प्राविधिक कारणले स्थगित गर्नुपरयो । नयाँ टोली छिटै तयार गर्दैछौँ,’ उनले भने ।

गण्डकी प्रदेशमा अहिले डा तारानाथ पोखरेलको नेतृत्वमा मदन श्रेष्ठ र सुदीप आलेको टोली खटिएको छ । यस्तै प्रदेश नं ५ मा डा यदुचन्द्र घिमिरे र डा प्रकाश बुढाथोकीको टोली खटिदैछ । अहिले त्यहाँ डा रमेशकुमार खरेलको नेतृत्वमा रविकान्त मिश्र र केशव पण्डितको टोली खटिएको छ ।

मन्त्रालयले कर्णाली प्रदेशमा डा रामअवतार यादव र डा श्यामबाबु यादवलाई खटाउने निर्णय गरेको छ । त्यहाँ अहिले डा अनुज भट्टचनको नेतृत्वमा डा फणिन्द्र बराल र उत्तम कोइरालाको टोली खटिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा डा प्रदीप केसी र पानबहादुर क्षेत्रीलाई पठाउने निर्णय गरेको छ । उनीहरु त्यहाँ पुगिसकेपछि डा भिम सिंह तिंकरीको नेतृत्वमा रहेको डा रामराज पन्थी र नन्दा अवस्थीको टोली फर्किनेछ ।

मन्त्रालयले यो टोलीलाई प्रदेश तथा स्थानीय तहमा कोभिड १९को अवस्था कस्तो छ ? आइसोलेसन, क्वारेन्टाइन, स्वास्थ्य सुरक्षा सामग्रीको अवस्था के कस्तो छ ? ती सामग्री उपलव्धताका लागि के कसरी समन्वय गर्ने भनेर सघाउनका लागि पठाएको हो । अहिलेको टोलीलाई अर्को व्यवस्था नभएसम्मका लागि ती स्थानमा गएर काम गर्न भनिएको छ ।

नयाँ टोलीलाई बिहीबार नै मन्त्रालयमा बोलाएर ओरिन्टेशन गराइसकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *