कोरोना अपडेट : पीसीआर र आरडीटीबाट साढे ५३ हजारको परीक्षण, कुल संक्रमितको संख्या ५२

काठमाडौँ, १५ बैशाख । सरकारले देशभर कोरोना भाइरसको परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म रियलटाइम पीसीआर विधिबाट १० हजार ४७१ र र्‍यापिड डाईग्नोटिक टेष्ट (आरडीटी)बाट ४३ हजार ६३ गरी कुल ५३ हजार ५३४ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले बताए ।

माघ ९ मा पहिलो केश देखिँदा परीक्षणको लागि हङकङ पठाउनु परेपनि त्यसयता काठमाडौँ सहित देशका सातवटै प्रदेशका विभिन्न १६ स्थानबाट पीसीआर विधिबाट कोरोना परीक्षण हुन थालेको जानकारी दिए । उनले पछिल्लो पटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याव स्थापना गरी परीक्षण शुरु गरिएको जानकारी दिए ।

अहिलेसम्म कुल ५२ जना संक्रमित भेटिएको र ती मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेको सुनाए । उनले अहिले विराटनगरस्थित कोशी अस्पतालमा ३१ जना, वीरगञ्जस्थित नारायणी अस्पतालमा ३ जना, चितवनस्थित भरतपुर अस्पतालमा १ जना र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा १ जना गरी ३६ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए ।

उनले आइसोलेसनमा उपत्यका ८ र बाहिर ९८ गरी १०६ जना रहेको बताए । यस्तै उनले क्वारेन्टाइनमा रहनेको संख्या अहिले २० हजार १९५ रहेको बताए । त्यसमा सबैभन्दा बढी प्रदेश नं ५ मा ११ हजार २०२ र सबैभन्दा कम बाग्मती प्रदेशमा २३० जना रहेका छन् ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले यसै साता केन्द्रीय कारागार अस्पतालका दुई जना नर्समा आरडीटी पोजेटिभ देखिएपछि मन्त्रालय स्वास्थ्यकर्मीको सुरक्षाको विषयमा थप सम्वेदनशील भएको भन्दै संक्रमण रोक्न स्वास्थ्यकर्मीले देखाएको संक्रियताको प्रशंसा गरे ।

उनले शुरुमा केही समस्या भएपनि यतिवेला अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीका लागि चाहिने सुरक्षा सामग्री प्रयाप्त रहेको बताए । उनले महामारीविरुद्धको अभियानमा खटिएका सबैलाई धन्यवाद दिदै सचेत र सावधानीपूर्वक काम गर्न आग्रह गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *