२४ जनामा कोरोना पोजेटिभ देखिएपछि उदयपुरमा थप २१०० जनाको आरडीटी गर्ने तयारी

उदयपुर, १० बैशाख ।  उदयपुरको त्रियुगा नगरपालिका भुल्के र त्यसवरपरको क्षेत्रमा थप २१०० जनामा र्‍यापिड डाग्नोस्टिक टेष्ट(आरडीटी) परीक्षण गर्ने तयारी भएको छ ।

भुल्केमा रहेको मस्जितमा बसेका १२ जना भारतीय र त्यस वरपर रहेका अरु १२ जना स्थानीयमा कोरोना भाइरस पोजेटिभ देखिएपछि नगरपालिकाले थप २१०० जनामा आरडीटी परीक्षण गर्ने तयारी गरेको हो ।

भुल्के क्षेत्रमा विभिन्न चरणमा गरेर ५६० जनाको पीसीआर परीक्षण गरिएको छ । अधिकांशको नतिजा आइसकेपनि केहीको नतिजा आउन बाँकी रहेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले भने । उनले यति धेरै केश देखिएपनि संघ र प्रदेश सरकारले गम्भीरता नदेखाएको आरोप लगाए ।

‘यहाँ त संघ र प्रदेश सरकारले क्याम्प खडा गरेर २४ घण्टा डिउटी गर्नुपर्ने हो । रातारात कोरोना विशेष अस्पताल बनाउनु पर्ने हो । तर संघ र प्रदेश अहिलेसम्म तेल हालेर बसेको छ । हामी स्थानीय तहले मात्रै गर्न कति सक्छौँ ?,’ आक्रोशित हुँदै मेयर चौधरीले भने ।

उनले स्थानीय तहमा माहामारी देखिएको भएपनि त्यसको गम्भीरता प्रदेश तथा स्थानीय तहले नदेखाएको आरोप लगाए । अहिले सो क्षेत्रका सबै स्थानीयलाई घरमै क्वारेन्टाइनमा राखिएको भन्दै उनीहरुको परीक्षण र उपचारको दायरालाई युद्धस्तरमा बढाउन आग्रह गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *