बाढीपीडितका लागि डब्लुएचओद्धारा एक लाख ५० हजार डलर सहयोग
काठमाडौं, १४ भदौ । गत १० भदौमा भोटेकोशी नदिमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको स्वास्थ्य तथा तत्काल राहतका लागि भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एक लाख ५० हजार अमेरिकी डलर आपत्कालीन सहायता उपलब्ध गराएको छ।
दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषबाट उपलब्ध गराइएको उक्त रकम बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक स्वास्थ्य सेवा तथा अन्य आपत्कालीन प्रतिकार्यका काममा खर्च गरिने डब्लुएचओले जनाएको छ।
डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. निलेश बुद्धले आपत्कालीन कोषबाट प्राप्त रकम तत्कालको स्वास्थ्य प्रतिकार्यमा प्रयोग गरिने बताए।
‘आपत्कालीन कोषले तत्काल आवश्यक प्रतिकार्यका प्राथमिकतालाई सहयोग गर्नेछ। डब्लुएचओ प्रतिकार्य तथा पुनःस्थापनाका प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्न प्रतिबद्ध छ,’ उनले भने।
यसअघि गत २६ अगस्टमा आकस्मिक बाढी आएको केही घण्टाभित्रै डब्लुएचओले आवश्यक आपत्कालीन स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाएको थियो। ती सामग्रीमा करिब १० हजार मानिसको तीन महिनासम्मको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न सक्ने अन्तरसंस्था आपत्कालीन स्वास्थ्य सामग्री किट तथा बहुउद्देश्यीय टेन्टसमेत रहेका छन्।
तत्काल आवश्यकतालाई ध्यानमा राख्दै डब्लुएचओले प्रभावित क्षेत्रमा सर्जिकल मास्क, पञ्जा, हात सफा गर्ने सेनिटाइजर तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ।
राष्ट्रिय निकायले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा परी ७३० भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब २ हजार ५ सय जना बेपत्ता छन्। दुई सयभन्दा बढी घाइते भएका छन् भने ७४ जना उपचाररत छन्।
बागमती र गण्डकी प्रदेशका बाढीबाट गम्भीर प्रभावित ६ जिल्लाका अनुमानित १० हजार परिवारलाई तत्काल राहत आवश्यक रहेको छ। बाढीका कारण ठूलो जनधनको क्षति, विस्थापन तथा स्वास्थ्य संस्थासहितका महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ।
सबैभन्दा बढी प्रभावित रसुवा जिल्लामा चारवटा स्वास्थ्य संस्था पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। धादिङका दुई स्वास्थ्य संस्था आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। सडकमा क्षति पुगेपछि धादिङ र त्रिशूलीका दुई अस्पतालसम्म पुग्नसमेत कठिनाइ भएको डब्लुएचओले जनाएको छ। पहुँच अवरुद्ध भएका क्षेत्रमा विस्थापित मानिससम्म पुग्नु अहिले पनि चुनौतीपूर्ण बनेको छ।
डब्लुएचओले नेपाल सरकार तथा अन्य साझेदार संस्थासँग मिलेर स्वास्थ्य प्रतिकार्यलाई प्रभावकारी बनाउने, रोगको निगरानी बढाउने, अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्ने तथा नयाँ स्वास्थ्य जोखिम पहिचान गरी सम्बोधन गर्ने काम गरिरहेको जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा डुबेर हुने मृत्यु, चोटपटक, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, दूषित पानी र खानाबाट सर्ने रोग तथा लामखुट्टेलगायत कीटजन्य रोग फैलिने जोखिम रहेको डब्लुएचओले जनाएको छ।
यसका साथै परिवारका सदस्य गुमाउनु, घर र जीविकोपार्जनका साधन नष्ट हुनु, विस्थापित हुनु तथा भविष्यप्रतिको अनिश्चितताले बाढी प्रभावित समुदायको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थामा समेत गम्भीर असर पार्न सक्ने डब्लुएचओले जनाएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



