नेपालमा कोरोना अपडेट : परीक्षणको दायरा तीन गुणाले बढ्यो, भेटिएन नयाँ संक्रमित

काठमाडौँ, २९ चैत । कोरोना भाइरस (कोभिड – १९)ले पछिल्लो एक सातामा छिमेकी देश भारत, महाशक्ति राष्ट्र अमेरिका र युरोपका दर्जनौँ देशमा तवाही मच्चाएको छ । तर यो अवधी नेपालका लागि भने सुखद रह्यो ।

पछिल्लो एक सातामा नेपालमा संक्रमितको संख्या बढेको छैन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्दै आएको कोरोना भाइरस मिडिया अपडेट अन्त्य गर्ने क्रममा प्रवक्ता डा विकास देवकोटाले भने, ‘नयाँ पोजेटिभ केश छैन् ।’

यो संगै नेपालमा नयाँ पोजेटिभ केश नदेखिएको एक साता पुगेको छ । एक साता अघि कैलाली दुई र कंचनपुरमा एक गरी तीन जनामा यो भाइरसको संक्रमण थपिएको बताइएको थियो । कोरोना संक्रमितको संख्या ९ पुगेको थियो ।

अझ त्यस दिनको रिपोर्टमा कैलालीमा पहिले संक्रमित भएको व्यक्तिको परिवारका सदस्यलाई संक्रमण देखिएपछि नेपाल दोस्रो चरणमा प्रवेश गरेको उल्लेख गरिएको थियो ।  तर त्यस यता कुनै नयाँ केश देखिएको छैन् ।

कैलालीमा लोकल ट्रान्समिसन (स्थानीय संक्रमण) देखिएपछि सरकारले परीक्षणको दायरा बढाएको छ । एक साता अघिसम्म अर्थात नवौँ संक्रमितको घोषणा हुँदासम्म नेपालमा १ हजार ४४१ जनाको मात्रै कोरोना परीक्षण पीसीआर टेष्ट गरिएको थियो । त्यस यताको अवधीमा परीक्षणको दायरा ह्वात्तै माथि गएको छ । प्रवक्ता डा देवकोटाले शनिबार विवरण दिँदा ४ हजार ४४६ जनाको परीक्षण पीसीआर टेष्ट भइसकेको बताए । उनले पछिल्लो २४ घण्टामा मात्रै ८९७ जनाको परीक्षण भएको जानकारी दिए ।

यो हिसावले नवौँ संक्रमित हुँदासम्म भएको परीक्षणको संख्या र त्यसयताको एक सातामा गरिएको परीक्षणको संख्या तीन गुणा भन्दा बढी भएको देखिन्छ । यस्तै एक साताको अवधीमा उपत्यका र उपत्यका बाहिर थप ६ स्थान गरी १२ वटा ठाँउबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

यसबीचमा मन्त्रालयले स्थानीय तहसंग समन्वय गरेर सातवटै प्रदेशका क्वारेन्टाइनमा रहेका जोखिमयुक्त व्यक्तिलाई रेपिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) बाट पनि परीक्षण गरेको छ । त्यसमा पनि पोजेटिभ केश नदेखिएको प्रवक्ता डा देवकोटाले बताए ।

नोवेल कोरोना भाइरसको संक्रमण विश्वका ११४ देशमा प्रवेश गरी १ लाख १८ हजार मानिसमा सरेपछि विश्व स्वास्थ्य संगठनले गत ११ मार्चमा यस रोगलाई विश्वव्यापी महामारी घोषणा गरेको थियो । सो घोषणा गरिएको आज एक महिना पुगेको छ । नेपालमा अहिलेसम्म संक्रमितको संख्या ९ भन्दा बढ्न सकेको छैन । अझ ९ मध्ये एक जना निको भएर घर फर्किसकेका छन् । आठ जनाको पनि स्वास्थ्य अवस्था सामान्य नै छ । यो हामी सबैका लागि खुशीको कुरा हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *