‘एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं’

–पुरुषोत्तम थापा

दैलेख १२ चैत ।  “तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।” विश्वव्यापी रुपमा फैलिएको ९कोभिड –१९० कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको छ ।

कोरोनाको सङ्क्रमण कतै नफैलियोस र कोही पनि सङ्क्रमित नहोस् भन्नका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले स्वास्थ्यकर्मीको टोलीसहित घरमै गएर उपचार गर्ने रणनीति बनाएको हो । जिल्लाका ९० वडामध्ये ८९ वडामा सडकको सजिलै पहुँच भएकाले घरघरमै गएर उपचार गर्न सम्भव भएको जिल्ला जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले बताए । “कोही विरामी भए । एक कल फोन गर्नुहोस् । उपचार लागि तपाईको घरमै आउँछौंं”, उहाँले भन्नुभयो, “कोराना फैलिन नदिनका लागि विरामीको घरदैलोमा उपचार गर्न थालेका छौं ।” कोही विरामी हुँदा घरबाट बाहिर नआउन स्वास्थ्य कार्यालयले जिल्लाबासीलाई आग्रह समेत गरेको छ ।

स्वास्थ्य कार्यालयले सूचनासँगै ९ स्थानीय तहका एम्बुलेन्स र त्यसको चालकको मोवाइल नम्बर सहितको सूचना जारी गरेको छ । यी नम्बरहरुमा फोन आउनासाथ तुरुन्त त्यही पुगेर विरामीलाई जिल्ला अस्पतालमा ल्याइने जनस्वास्थ्य अधिकृत रेग्मीले जानकारी दिए । “हामीले जिल्लाका सबै एम्बुलेन्स चालकहरुको नम्बर सामाजिक सञ्जाल, रेडियो र सम्पूर्ण स्वास्थ्य चौकीका सूचना पार्टीमा टाँसी सकेका छौं”, उनले भने।

सबैले यो अनुरोधलाई आत्मसाथ गरे कोही कसैले उपचार नपाएर यो लक डाउनमा ज्यान गुमाउन नपर्ने उनको भनाइ छ । लकडाउन भएको बेला उद्दारका लागि १० एम्बुलेन्स तयारी अवस्थामा राखेको बताए ।

कोरोना सङ्क्रमितका लागि दैलेख अस्पतालमा १५, महावुमा ५, दुल्लू नगरपालिका ५, भगवतीमाई गाउँपालिकामा ५ वटा आइसोलेशन शैय्या र नारायण क्याम्पसमा १०० शैय्याकोे क्वारेन्टाइन तयार पारिएको उहाँले जानकारी दिए ।

कोरोनाको त्रास : गाउँघर असुरिक्षत बन्दै, शहर सुरक्षित हुँदै
विश्वभरि महामारीको रुप लिएको ‘कोभिड –१९’ ले दैलेख जिल्ला सरमुकामलगायत अन्य बजार सुनसान छन् भने गाउँघरमा चहलपहल बढ्दै गएको छ । शहरदेखि भारत वा तेस्रा मुलुकबाट गाउँमा मानिस फर्किएपछि शहर सुनसान र गाउँतिर चहलपहल बढेको हो । विदेशबाट फर्किएकालाई स्वास्थ्य चेकजाँच गरि १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्थाले शहर सुरक्षित छ भने गाउँघरमा ‘हेल्थ डेस्क’ वा क्वारेन्टाइन नहुँदा जोखिम बढदै गएको स्थानीयवासीको भनाइ छ ।

जिल्लाका ११ स्थानीयतहमध्ये आठविस नगरपालिका, नौमुले गाउँपालिका र गुराँस गाउँपालिका, भवतीमाई गाउँपालिका र दुल्लू नगरपालिकामा आइसोलेशन शैय्या तयार पारिएको छ भने अन्य गाउँपालिकामा न त क्वारेन्टाइन शैय्या तयार पारिएको छ, न त आइसोलेशन शैय्या नै ।

ती गाउँपालिका र नगरपालिकामा आइसोलेशन शैय्या र क्वारेन्टाइन नहुँदा विदेशबाट फर्किएका मानिस निर्धक्कसाथ गाउँघरमा जाने गरेका छन् । स्वास्थ्य जाँच नै नगरी गाउँघरमा जानाले कोरोना भाइरसको सङ्क्रमण फैलिने त्रास बढेको ठाटीकाँध– १ का नामबहादुर शाहीले बताए । “गाउँपालिकाले ‘हेल्थ डेस्क’ आइसोलेशन शैय्या र क्वारेन्टाइन नबनाउँदा भारत वा तेस्रो मुलुकबाट गाउँ फर्किएका मानिस निर्धक्क घर आएका छन, यसले जनतामा त्रास फैलाएको छ । क्वारेन्टाइन बनाउन गाउँपालिका उदासिन बनेको छ”, आरोप लगाए ।

“हेल्थ डेस्क राकममा छ । त्यहाँभन्दा सात्तला, टुनीवगर, सिगौडी घर भएका मानिस स्वास्थ्य चेक जाँच नगरेर घर लाग्छन । गाउँमा आएकालाई क्वारेन्टाइन छैन् । क्वारेन्टाइन नहुँदा घरमै बस्नुपर्ने बाध्यता छ । त्यसैले शहर भन्दा गाउँघर असुरक्षित बन्दै गएका हुन्”, आठविस नगरपालिकाका चन्द्रबहादुर शाहीले बताए ।

उनले भने, “गाउँमा भारतबाट फर्किनेको लर्को लागेर आएका छन् । स्वास्थ्य केन्द्रमा डाक्टर छैनन् । गाउँपालिकाले कोरोना बारे जनचेतना जगाउने काम गरेको छैन । सूचना जारी मात्र गरेको छ । यसले जोखिम बढाएको छ ।”

त्यसैगरि कोभिड– १९ सङ्क्रमणबाट बच्नका लागि चामुण्डा विन्द्रासैनी नगरपालिकाले घरदैलो अभियान गरि स्थानीयवासीमा जनचेतना फैलाउने काम गरेको छ भने भने कर्णाली राजमार्गस्थित साँगेतडा बजार र मध्यपहाडी राजमार्गको पादुकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने नगरप्रमुख सूर्यबहादुर शाहीले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *