पाल्पाको तानसेनमा हेमो डायलासिस सेन्टर स्थापना

पाल्पा २६ फागुन । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, बुटवलले पाल्पाको तानसेनमा हेमो डायलासिस सेन्टर स्थापना गरेको छ । पाल्पा सामुदायिक डायलासिस सेन्टरको नाममा स्थापित सो सेन्टर आगामी ७ चैत देखि सञ्चालनमा आउने बताइएको छ ।

सो डाइलासिस सेन्टर रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आर्थिक सहयोगमा स्थापना गरिएको हो ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले सेन्टरमा भवन निर्माण, डायलाईसिस मेशिन जडान लगायतका सम्पूर्ण कामहरु पुरा भएकोले ७ गतेदेखि सेवा शुभारम्भ गर्न लागिएको जानकारी दिए ।

हाल १० वटा मेशिनबाट विरामीहरुको मिर्गौला डायलाईसिस गरिने र आवश्यकताको आधारमा थप मेशिन समेत जडान गरिने रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले बताए ।

पाल्पा सामुदायिक डायलाईसिस सेन्टरका संयोजक बाबुराम बोहराले तानसेनमा डायलाईसिस सेवा शुभारम्भ भएपछि विरामीहरुको आर्थिकसंगै समयको बचत हुने भन्दै डायलाईसिसको लागि पालो पर्खिनुपर्ने अवस्थाको समेत अन्त्य हुने बताए ।

१० वटा मेशिन सहित तानसेनको बन्दीपोखरामा स्थापना गरिएको सेन्टरबाट पाल्पा, गुल्मी र स्याङजा क्षेत्रका मिर्गौलाका विरामीहरु लाभान्वित हुने छन् ।

करिब ५ करोडको लागतमा स्थापित उक्त सेन्टरबाट दैनिक ३० जना विरामीको नियमित डायलाईसिस गर्न सकिने स्वास्थ्य संस्थाले जनाएको छ ।

हाल पाल्पा गुल्मी लगायतका जिल्लाबाट ६४ जना विरामी नियमित डायलाईसिसको लागि बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका छन् ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले विगत ५ वर्ष देखि बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा २० वटा मेसिनबाट २४ घन्टा सेवा प्रदान गर्दै आउनुको साथै विगत १ महिना देखि दाङ्गको लमहीमा १० वटा मेसिन जडान गरी सेवा प्रदान गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *