कोरोना भाइरस सङ्क्रमणः फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु


पेरिस, ४ फागुन । कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ ।

शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भने, “चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट फ्रान्समा एक ८० बर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ ।”

एसिया महादेशभन्दा बाहिर यो भाइरसको सङ्क्रमणबाट भएको यो नै पहिलो मृत्यु हो । बुजिनका अनुसार फ्रान्समा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएका अन्य छ जनाको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको छ ।

बुजिनले भने “फ्रान्समा मृत्यु भएका चिनियाँ पर्यटकलाई जनवरीको अन्त्यतिर पेरिसस्थित उक्त अस्पतालमा एकान्तमा राखी सेवा प्रदान गरिएको थियो । केही दिन यता उनको स्वास्थ्य अवस्था ‘निकै विग्रिएको’ थियो ।” चिकित्सकको अथक प्रयासका वाबजुत उनलाई बचाउन नसकिएको स्वास्थ्यमन्त्रीले बुजिनले बताए ।

चीनको मध्य क्षेत्रस्थित हुबेईको राजधानी वुहानबाट गत वर्षको डिसेम्बरमा देखा परेको यो नयाँ भाइरसका कारण चीनमा एक हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म मुख्यभूमि चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा गरी कूल चार जनाको मृत्यु भएको छ ।

चीनमा कोभिड–१९ का कारण अहिलेसम्म ६६ हजार व्यक्ति सङ्क्रमित भएको पुष्टि गरिएको छ ।  चीनको वुहान र आसपासका स्थानमा रहेका करिब पाँच करोड ६० लाख व्यक्तिलाई रोग फैलिनबाट रोक्नका लागि क्वारेन्टाइनमा राखिएको छ ।

चीनबाहिर झण्डै ६०० व्यक्तिलाई कोभिड–१९ को सङ्क्रमण भएको र यसमध्ये करिब ३५ जना यूरोपेली संघ (इयू) सदस्य राष्ट्रमा पनि रहेको बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *