चीनबाट १८० नेपालीलाई ल्याएपछि स्वास्थ्यको जिम्मा के ? लाग्यो भागवण्डा

काठमाडौँ, २४ माघ । चीनको कोरोना प्रभावित क्षेत्रबाट १८० जना नेपालीको उद्धार गर्नु अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूमाथि आएको दायित्व मातहतका कार्यालयलाई बाँडफाँड गरेको छ । स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा आज बसेको बैठकले आफ्नो मन्त्रालयले गर्नुपर्ने कामको बाँडफाँड गरेको हो ।

सहसचिव डा दीपेन्द्र रमण सिंहका अनुसार चीन जानु अघिको टोलीको स्वास्थ्य सम्वन्धी जाँच, पोशाक व्यवस्थापन, चीनबाट नेपाली ल्याइसकेपछि विमानस्थलमा स्क्रिनिङ गर्ने व्यवस्था, र क्वारेन्टाइनमा गएर स्वास्थ्य सुरक्षा व्यवस्था र त्यसको व्यवस्थापन लगायतका जिम्मेवारी ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिइएको छ ।

त्यस्तै चीनबाट ल्याइएका व्यक्तिहरुको रगत तथा अन्य परीक्षणको जिम्मेवारी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दिइएको छ ।

चीनबाट ल्याइएको व्यक्तिमा संक्रमण देखिइहाल्यो भने त्यसको आवश्यक उपचार र समन्वय गर्ने काम शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताललाई दिइएको छ ।

शुक्रबार नै मन्त्रालयले विकास साझेदार संस्थाका प्रतिनिधिहरुसंग कोरोना भाइरसको सम्वन्धमा छलफल गरेको थियो । खासगरी चीनको हुवे प्रान्तमा रहेका १८० नेपालीलाई घर फर्काउनका लागि आवश्यक तयारी भइरहेको भन्दै त्यसमा आवश्यक पर्न सक्ने आर्थिक तथा प्राविधिक सहयोगका लागि विकास साझेदारहरुसंग छलफल गरिएको हो ।

कोरोना भाइरसको प्रकोप चीनमा फैलिएदेखिनै त्यस क्षेत्रमा रहेका नेपालीहरुले उद्धारका लागि आग्रह गरिरहेका छन् । उनीहरुले सरकारले निकै ढिलाई गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । तर सरकारले भने ल्याउनका लागि तयारी भइरहेको भन्ने जवाफ दिइरहेको छ ।

डा सिंहले पनि स्वास्थ्यले आवश्यक तयारी गरिरहेको भन्दै उद्धारको लागि कहिले टोली कहिले चीन जान्छ ? भन्ने प्रश्नमा भने जवाफ दिन सकेनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *