त्रिभुवन विमानस्थलमा जडान गरिएको थर्मल स्क्यानर १० दिनमै बिग्रियो

काठमाडौँ, १२ माघ । कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थिल हेल्थ डेस्कमा जडान गरेको थर्मल स्क्यानर १० दिनमै बिग्रिएको छ । हेल्थ डेस्कमा जडान गरिएको दुईवटा मध्ये एउटा स्क्यानरले गत सोमबार देखि नै काम गर्न छाडेको हो ।

‘एउटा स्क्यानर बिग्रिएपछि हवाई यात्रुहरुलाई एउटा स्क्यानरबाट जाँच गर्नुपर्ने बाध्यता छ । त्यसैले हामीले लाइन लगाएर एउटै स्क्यानरबाट यात्रुहरुको ज्वरो परीक्षण गरेका छौँ,’ स्रोतले भन्यो ।

चीनमा कोरोना भाइरसको प्रकोप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १० माघ देखि विमानस्थल हेल्थ डेस्कमा दुई वटा थर्मल स्क्यानर मेसिन जडान गरेको थियो ।

‘विश्व स्वास्थ्य संगठनको समन्वयमा आएको सो मेसिन नयाँ भने होइन । पुरानै मेसिन जडान गरिएको थियो । विग्रियो त्यसको जानकारी मन्त्रालयलाई गराईसकिएको छ,’ विमानस्थल स्रोतले भन्यो ।

कोरोना सस्पेक्टेड भन्दै चिनियाँ नागरिकलाई भारतले फर्काइदियो

चिनियाँ नागरिकलाई भारतमा अनअराइभल भिषा छ । नेपालबाट धेरै चिनियाँहरु भारत प्रवेश गर्नेगर्छन् । तर पछिल्लो समय चिनियाँ नागरिकलाई नेपालबाट भारत प्रवेश गर्न अफ्टेरो भएको छ । गएका नागरिकलाई भारतले विमानस्थलबाट नै फिर्ता गरिदिएको छ ।

विमानस्थल स्रोत भन्छ, ‘अस्ति मात्रै एक जना चिनियाँ नागरिक भारत गएका थिए । कोरोना सस्पेक्टेड भनेर त्यतिकै नेपाल फिर्ता गरिदियो । तर नेपालमा आएर परीक्षण गर्दा त्यस्तो देखिएन ।’

विमानका क्रयू मेम्बरलाई पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट प्रयोग सम्वन्धी तालिम गराउँने

यता विमानस्थल स्रोतका अनुसार स्वास्थ्य मन्त्रालय र डव्लुएचओले चीनमा रहेका नेपालीलाई उद्धार गर्न जाने विमानका पाइलट, तथा क्रयु मेम्वरलाई पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्टको प्रयोग गर्ने तरिका सिकाउने योजना अघि सारेको छ । नागरिक उड्यन प्राधिकरणको समन्वयमा चीन प्रस्थान गर्ने पाइलट तथा अन्य सदस्यलाई सुरक्षित पोशाक लगाउने तरिका सिकाउने योजना अघि सारेको हो ।

हेल्थ डेस्कमा ७ जना डाक्टर सहित १३ जना स्वास्थ्यकर्मी
केही दिन अघिसम्म चार जना कर्मचारीले धानेको हेल्थ डेस्कमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी थपेको छ । स्रोतका अनुसार अहिले हेल्थ डेस्कमा ७ जना डाक्टर, ३ जना नर्स, र ३ जना प्यारामेडिक्स कार्यरत छन् । यस्तै केही एम्वुलेन्स तयारी अवस्थामा राखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *