महोत्तरी : स्वास्थ्यचौकीमा शौचालय र खानेपानी अभाव


जलेश्वर, १३ माघ । महोत्तरीको रामगोपालपुर नगरपालिका–७ सहसौलामा अवस्थित स्वास्थ्य चौकीमा लामो समयदेखि शौचालय र खानेपानीको अभाव रहेको छ । स्वास्थ्य चौकीजस्तो स्थानमा शौचालय र खानेपानी नहुँदा त्यहाँ कार्यरत कर्मचारी तथा उपचारका लागि पुग्ने गरेका बिरामीलाई विभिन्न समस्या हुने गरेका स्वास्थ्य चौकी प्रमुख अहेव लक्ष्मण महतोले बताए।

उनले वर्षौदेखि सो स्वास्थ्य चौकीमा शौचालय र खानेपानी नरहेको तथा सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्दा पनि ध्यान नदिँदा शौचालय जान र पानी पिउन निक्कै समस्या हुने गरेको जानकारी दिए । तीन पुरुष र एक महिला कर्मचारी कार्यरत सो स्वास्थ्य चौकीमा पुरुष कर्मचारी शौचालयका लागि वरपर खुल्ला स्थानमै गइहाले पनि महिला कर्मचारीलाई अरूको घरको सहारा लिनुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकी प्रमुख महतोले बताए ।

स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई पनि शौचालय र खानेपानीको अभावमा विभिन्न समस्या हुने गरेको उनले थपे । उनले स्वास्थ्य चौकीमा शौचालय र खानेपानी नहुँदा हुने गरेको समस्याबारे पटकपटक रामगोपालपुर नगरपालिकाका प्रमुख अशोक मण्डल र वडाध्यक्ष शम्भु साहलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । नगर प्रमुख मण्डलले बजेट अभावका कारण अहिले तत्कालै सो स्वास्थ्य चौकीमा शौचालय र खानेपानीको व्यवस्था गर्न नसकिएको तर त्यहाँको समस्या चाँडै समाधान गर्ने बताए ।  रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *