बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या


चितवन, १० माघ । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत चौध जिल्लाका बिरामीलाई सेवा दिँदै आएको छ । विसं २०७४ भदौ १ गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको थियो ।

प्रथम सेवा बिन्दुको रुपमा अस्पतालले बीमाका बिरामीलाई सेवा दिँदै आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमा लागू भएपछि पुसमसान्तसम्ममा ५३ हजार ४३८ बिरामीले बीमाको सुविधा प्राप्त गरेका छन् । तीनै बिरामीले अस्पतालमा दुई लाख ४४ हजार ९४२ पटक सेवा लिएको उनले जानकारी दिए । सबैभन्दा बढी चितवनका बिरामीले सेवा लिएका छन् ।

यसपछि मकवानपुर, तनहुँ र गोर्खा जिल्ला रहेका छन् । रोल्पा, रुकुम, पाल्पा, दाङ्, अर्घाखाँची, पर्सा, सिन्धुली, रामेछाप, कास्की र रौतहटका बिरामीले पहिलो सेवा बिन्दु र रेफरल सेवा विन्दुका रुपमा अस्पतालबाट सेवा लिएको जनाइएको छ ।

बीमा कार्यक्रमबाट अस्पतालले रु २६ करोड १२ लाख ५२ हजार २५८ प्राप्त गरेको छ । रु आठ करोड पाउन बाँकी रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले बीमा लागू भएका सरकारी अस्पतालमा भरतपुर अस्पतालको सेवा उत्कृष्ठ रहेको जानकारी दिए । स्वास्थ्य बीमा बोर्डले समयमा भूक्तानी नगर्दा सञ्चालनमा कठिनाइ भएको उनले बताए ।

बोर्डका कार्यकारी निर्देशक रमेश पोखरेलले भरतपुर अस्पतालले धेरै बिरामीलाई सेवा दिएको बताउँदै सेवामा अरु बढी सुधार आवश्यक रहेको बताए । जनशक्तिको अभावमा भुक्तानीमा केही ढिलाइ भएको भएको र छिट्टै भुक्तानी गरिने उनले जानकारी दिए ।

देशभरका ५० जिल्लाका २५ लाख जनताले स्वास्थ्य बीमा गरेका छन् । देशका सबै जिल्लामा बीमा कार्यक्रम कार्यान्वयनमा आउँदै छ । विसं २०७२ चैत्र २५ गते कैलालीबाट शुरु भएको बीमा कार्यक्रमअन्तर्गत पछिल्लो पटक यही माघ ७ गते धादिङमा ५०औँ जिल्लाको रुपमा बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *