मापदण्ड विपरीतका सूर्तिजन्य पदार्थ विक्री गर्ने पसलमा जिप्रकाको ताला

फाईल तस्बिर

कैलाली, ३ माघ ।  जिल्ला प्रशासन कार्यालय कैलालीले मापदण्ड विपरितका सूर्तिजन्य पदार्थ नियन्त्रण गर्ने अभियान शुरु गरेको छ । स्थानीय प्रशासनले विहीबार देखि अनुगमन शुरु गरेको हो ।

जिप्रका कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको नेतृत्वमा बिहीबार बजार अनुगमनमा निस्केको टोलीले धनगढी बजारका केही पसलको निरीक्षण गरेको थियो ।

सो क्रममा सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भाग चेतावनीमुलक स्वास्थ्य सन्देशले छोपिएको छ कि छैन भनेर निरीक्षण गरिएको जिप्रकाका सूचना अधिकारी शिवराज जोशीले बताए ।

‘अनुगमनका क्रममा एउटा पसलमा राखिएका सूर्तिजन्य पदार्थ गुड्कामा छापिएको चित्रमा ९० प्रतिशत छ कि छैन् भन्नेमा शंका लाग्यो । अनि हामीले थप अनुसन्धान गर्न स्याम्पल ल्याएका छौँ र पसलमा ताला लगाइदिएका छौँ,’ उनले भने ।

सूर्ति नियन्त्रण सम्वन्धी कानूनले सहायक प्रमुख जिल्ला अधिकारीलाई सूर्तिजन्य पदार्थको निरीक्षण गर्ने प्रमुख व्यक्ति अर्थात निरीक्षक तोकेको छ । तर धेरै जिल्लामा निरीक्षकले निरीक्षण गर्न भ्याएका छैनन् । कैलालीले भने अब सूर्तिजन्य पदार्थको अनुगमनलाई तिब्रता दिने बताएको छ ।

नेपालमा सूर्तिजन्य पदार्थको प्रयोगका कारण लाग्ने रोगबाट बर्षेनी २७ हजार बढीको मृत्यु हुने गरेको छ । सरकारले आठ बर्ष अघि अर्थात २०६८ सालमा पहिलो पटक सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्ने छुट्टै कानून ल्याएको थियो । जसमा सूर्तिजन्य पदार्थको प्याकेटमा चेतावनीमुलक चित्र राख्नै पर्ने बाध्यकारी व्यवस्था छ ।

पछिल्लो पटक संसोधित कानूनले सूर्तिजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भागमा सरकारले तोकेका चेतावनीमुलक रंगिन चित्र राख्नैपर्ने व्यवस्था गरेको छ । तर कतिपय सूर्ति उद्योगीहरुले सो नियमको पालना गरेका छैनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *