कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिमुक्त बनाउनुपर्छ : मुख्यमन्त्री शाही

- नेपाली हेल्थ


सुर्खेत, १९ पुस । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका नवनियुक्त शिक्षाध्यक्ष र अस्पतालका निर्देशकले भेटवार्ता गरेका छन् ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापा र अस्पताल निर्देशक डा. मंगल रावल मुख्यमन्त्री शाहीसंग भेटबार्ता गरेका हुन् । सो अवसरमा उनीहरुले प्रतिष्ठानका गतिविधिका बारेमा जानकारी गराउँदै थप सहयोगको लागि विशेष आग्रह गरेका छन् ।

मुख्यमन्त्री शाहीले कर्णालीको वास्तविकतामा रहेर प्रतिष्ठानले काम अघि बढाउनुपर्ने सुझाव दिए । उनले भने, “प्रतिष्ठानलाई राजनीतिबाट मुक्त गर्नुपर्छ । यहाँका १० वटै जिल्लामा स्वास्थ्य जनशक्तिको अभाव छ । प्रतिष्ठानले प्रदेशभरि सेवा विस्तारगरी त्यसलाई प्रभावकारी बनाउँदै लैजानुपर्दछ । ” प्रदेश सरकारले प्रतिष्ठानको विकासमा समन्वय, सहजीकरण र आवश्यकतामा सम्पूर्ण सहयोग गर्ने जानकारी समेत दिए ।

शिक्षाध्यक्ष डा. थापाले प्रतिष्ठानको शैक्षिक क्षेत्रको विकासका लागि योजनावद्ध रुपमा अघि बढ्ने बताए । प्रतिष्ठानको पुस १४ सातौं सिनेट बैठकले शैक्षिक कार्यक्रमहरु एमबीबिएस, एमडीजिपी जनरल प्राक्टिक्स, एमएस अर्थोपेडिक्स, एमडि ईन एनेस्थियोलोजी, एमडी एण्ड पेड्रियाडिक्स, एमडी गाईनोकोलोजी, एमएसी ईपिडिमियोलोजी, ब्याचलर इन न्यूट्रिसन र फार्मेसी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अस्पताल निर्देशक डा. रावलले प्रतिष्ठानको विकासबाट कर्णालीको विद्यमान स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउने बताए । रासस


Facebook Comment


थप समाचार