चिकित्सकको निर्वाचन : लोकतान्त्रिक समूहबाट डा. लोचन कार्की अध्यक्षका उम्मेद्धार

काठमाडौँ, २८ कात्तिक । आगामी माघमा हुने नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा नेपाली कांग्रेस निकट मामिने ( लोकतान्त्रिक समूह)ले डा. लोचन कार्कीलाई अध्यक्ष पदमा उठाउने निर्णय गरेको छ । डा. कार्की अहिले एनएमएको महासचिव छन् ।
सो समूहबाट पहिले नै महासचिव भएका डा भुपेन्द्रकुमार बस्नेत र कार्कीले अध्यक्षमा दावी गरेपछि उम्मेद्धार छान्नका लागि बर्तमान अध्यक्ष डा मुक्तिराम श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिमा पूर्व अध्यक्षहरु डा केदारनरसिंह केसी, डा अञ्जनीकुमार झा, डा चोपलाल भुसाल लगायत सदस्य थिए ।
‘अध्यक्षमा दुई जनाले इच्छा देखाउनु भएको थियो । तर आज हामी सबैजना बस्यौँ र छलफल गरी डा.लोचन कार्कीलाई अध्यक्षमा उठाउने सर्वसम्मत निर्णय गरयौँ,’ पूर्व अध्यक्ष डा केदार नरसिंह केसीले भने ।
अध्यक्ष पदमा यसअघि नै डा. पुष्पमणी खरालले उम्मेद्धारी घोषणा गरिसकेका छन् । उनी नेकपा निकट चिकित्सकहरुको समूहबाट उठने भएका हुन् ।
विसं २००७ साल फाल्गुण २० गते स्थापना भएको एनएमएलाई नेपालको पहिलो व्यावसायिक संस्था मानिन्छ । आगामी मागमा हुने निर्वाचन एनएमएको २८ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका हो ।
सम्पर्क इमेल : [email protected]