क्यान्सरको उपचारमा सम्पत्ति सकिएपछि बृद्ध दम्पत्तीको मन्दिरको बास

कँडेल दम्पत्ती

पर्वत, २६ माघ । क्यान्सरबाट पीडित पदमबहादुर कँडेल उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्न थालेका छन् । फलेवास नगरपालिका–११ पाङराङका कँडेल श्रीमती भीमाकुमारीसहित मुडिकुवास्थित कालिका मन्दिरमा बस्दै आएका हुन् ।

एउटा झुपडी र चार हलको खेत बेचेर आएको रु १२ लाख उपचारमा सकिएपछि मन्दिरको बास भएको उनी बताउँछनु । ६७ वर्षीय कँडेल ‘प्रोष्टेट क्यान्सर’बाट पीडित छन् । पिसाबमा रगत देखिन थालेपछि २०७१ पुस १४ गते पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुगेर चार महीनासम्म उपचार गरेपछि उनको रगत बग्ने समस्या कम भयो ।

उपचारका क्रममा रु १० लाख खर्च भयो । पोखराबाट फर्किएको एक महीना नहुँदै फेरि पिसाबमा रगत देखिन थालेकाले भएको घरखेत बेचेर गाउँलेको सल्लाहमा कँडेल २०७५ जेठमा चितवनको विपी कोइराला क्यान्सर अस्पतालमा पुगे । एक महीनाको उपचारपछि साथमा भएको रकम सकियो ।

अस्पतालले थप उपचारका लागि रकम जम्मा गर्न सल्लाह दिएर अस्पतालबाट फिर्ता पठाएकाले गृह जिल्ला आएपछि अहिलेसम्म गाउँ पुगेको छैन भन्दै उनी गुनासो गर्छन्, “ गाउँमा घर पनि छैन साथमा रकम पनि भएन, अब केका लागि गाउँ जाने ?”

गत वर्ष पुसदेखि श्रीमतीसहित मन्दिरमा बस्दै आउनुभएका कँडेलले चिकित्सकले रु २२ लाख भए उपचार हुने सल्लाह दिएको जानकारी दिँदै भन्छन् , “मसँग रु २० पनि खल्तीमा छैन, रु २२ लाख कहाँबाट ल्याएर उपचार गराउनु तर जस्तो भए पनि बाँच्न भने मन लाग्दोरहेछ ।”

कँडेलका चार छोरा छन् । छोराहरूको पनि उपचार गराउन सक्नै आर्थिक अवस्था राम्रो छैन । कान्छा छोरा मोहनबहादुर कँडेल रोजगारीका लागि दुबई पुगेका छन् । मोहनबहादुरले पठाएको रकम औषधि किन्दैमा सकियो, जेठा छोरा सोमबहादुरले कृषि पेशाबाट जेनतेन परिवार पाल्दै आएको छ, माइलो छोरो रोजगारीका लागि भारतमा गएको छ भने साइँलो छोरो पोहोर साल आगोमा डढेर अझै उपचार गराउँदै आएको उनी आफ्नो व्यस्था सुनाउनुहुन्छ ।

औषधि किनेर खान मासिक रु १० हजार जति खर्च हुने गरेको गरेकाले उपचारमा समस्या भएपछि देशविदेशमा रहेका नेपालीलाई आर्थिक सहयोग गर्न कँडेलले अपिल गरेका छन् ।

कँडेललाई पर्वत सेवा समाजले शुक्रबार रु १० हजार २५ प्रदान गरेको छ । समाजका अध्यक्ष मुना भुषाल र फलेवास–११ का वडाध्यक्ष जीतबहादुर सुनारले पीडित कँडेल दम्पतीलाई उपचारका लागि प्राप्त रकम सो रकम प्रदान गरेको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *