शिक्षण अस्पतालमा आज हुने भेलामा चिकित्सक संघले गर्ला बन्दको घोषणा ?
काठमाडौँ, १३ माघ । नेपाल चिकित्सक संघले सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम आज सकिदै छ । संघले आजै दिउसो १ बजे त्रिवि शिक्षण अस्पताल परिसरमा उपत्यका भित्रका सबै चिकित्सकलाई त्रिवि शिक्षण अस्पतालमा उपस्थित हुन निर्देशन दिएको छ ।
खास गरी डा गोविन्द केसीको जारी अनशन र उनको जीवन रक्षाका लागि संघले निर्वाह गर्नुपर्ने भुमिकाका विषयमा छलफल गर्न भेला बोलाइएको हो ।
एकातिर चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पास भइसकेको अवस्था र अर्को तिर डा गोविन्द केसीले अनशन जारी राखिरहेको अवस्थामा संघलाई निर्णय लिन त्यति सहज छैन् ।
कतिपय चिकित्सकले चिकित्सक संघले डा केसीसंग बार्ता गर्ने बाताबरण मिलाउन सरकारलाई दवाव दिन भन्दै विगतमा जस्तै अस्पतालको सेवा ठप्प पार्ने घोषणा गर्न सक्छ भनेका छन् । कतिपयको आकलन अस्पताल बन्द गर्ने गर्ने अप्रिय निर्णयमा यसपटक नपुग्ला कि भन्ने छ । तर निर्णयका लागि सामुहिक भेलाबाट कस्तो दवाव आउँछ, त्यसले अन्तिम टुंगो लाग्ने बताइएको छ ।
बन्द गरे अवज्ञा
डा केसीको १५ औँ अनशनका बेला चिकित्सक संघले आवहान गरेको बन्दको विपक्षमा नेकपा निकट मानिने राष्ट्रिय चिकित्सक नेपाल (एनडीएएन) खुलेर लागेको थियो । एनडीएएनले यसपटक पनि आफ्नो पूर्ववत अडान जारी रहेको जनाएको छ ।
एनडीएनका अध्यक्ष डा सन्तोष पौडेल भन्छन्, ‘डा केसीको जीवन रक्षा गर्नुपर्छ । त्यसका लागि हामी गम्भीर पनि छौँ । तर, उहाँको नाममा अस्पतालको सेवा बन्द गर्ने क्रियाकलाप हुनु हुदैन । चिकित्सक संघले घोषणा गरयो भने हामीले अवज्ञा गर्छौँ ।’
यता सरकारी चिकित्सक संघ नेपाल (गोदान) डा केसीको जीवन रक्षाका लागि सरकार गम्भीर हुनुपर्ने अडानमा छ । तर उसले पनि अस्पतालको सेवा बन्द गर्ने निर्णय गर्दा सोच्नुपर्ने बताएको छ ।
चिकित्सक संघको आवहानमा हुने बन्दमा सरकारी अस्पताल बन्द हुने र निजी खुल्ने गरेको पाइएको भन्दै उनले सबै अस्पताल बन्द भए मात्रै आफ्नो समर्थन रहने बताए ।
‘विगतमा कतिपय सरकारी डाक्टरहरु आन्दोलनका नाममा सरकारी अस्पताल बन्द गरेर निजीमा गएको सुनियो । त्यसैले हामीले बन्द गर्नैै निर्णय भए सशर्त बन्द गर्दछौँ । र फेरी पनि भन्दछौँ बन्द गर्ने बाताबरण सरकारले नल्याइदिओस । बार्ताको बाताबरण बनाइ हालोस’ गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले भने ।
यता निजी अस्पतालहरुको संस्था एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिटच्यूसन अफ नेपाल (अफिन)ले चिकित्सक संघले बन्दको घोषणा गरेपनि त्यो कार्यान्वयन हुन नसक्ने जनाएको छ । ‘डा केसीको जीवन रक्षा एउटा पाटो भयो तर त्यो नाममा अरुको उपचार पाउने अधिकार हनन हुन हुँदैन । निजी अस्पताल डा केसीकै नाममा बन्द हुँदैन,’ अफिनका बरिष्ठ उपाध्यक्ष कुमार थापाले बताए ।
चिकित्सक संघमाथि दवाव
डा केसीको अनशन लम्बिदै जाँदा स्वास्थ्य अवस्था विग्रँदै गएको र जीवन रक्षाका लागि कडा कार्यक्रम सञ्चालन सार्वजनिक गर्नै पर्ने बाध्यता संघलाई परेको छ ।
खासगरी आवासीय चिकित्सकहरु सेवा छाडेर आन्दोलनमा आइसकेको र उनीहरुको चर्को दवाव परिरहँदा संघले चेतावनी दिन भन्दै बन्दको आवहान गर्ने सम्भावना छ । तर बन्दको अवज्ञा भयो भने, निजी अस्पताल खुल्यो भने त्यसको अपजस संघका पदाधिकारीले बेहोर्नुपर्ने निश्चित छ ।
अस्पताल बन्द गरी आन्दोलनमा उत्रिने कदमको कतिपय बरिष्ट चिकित्सकहरुले विगत देखि नै विरोध गर्दै आइरहेका छन् । यो अवस्थामा सेवा बन्द गर्ने निर्णय लिन मुस्किल पर्छ ।
‘हामी त डा केसीको जीवन रक्षाका लागि के गर्न सकिन्छ भनेर भेला बोलाएका हौँ । चिकित्सा शिक्षा विधेयक पास भएको अवस्था डा केसीको अनशन जारी छ । अब यसको निकास के हुनसक्छ ? कसरी अनशन तोडाउने ? राज्यले के गर्ने ? केसी पक्षले के गर्ने भन्ने विषयमा छलफल गर्न लागिएको हो,’ संघका उपाध्यक्ष डा ढुण्डी पौडेलले भने, ‘सकेसम्म बन्द गर्न नपरोस भन्ने चाहना हाम्रो पनि हो । तर परिस्थितिले के भन्छ, आजको भेला पछि थाह होला ।’
डा केसीको अनशनको मुद्धामा चिकित्सकहरु बाँढिइरहँदा संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस खुलेर डा केसीको पक्षमा लागेको छ । त्यस्तै विवेकशील नेपाली दल, विवेकशील साझा पार्टी पनि उनको समर्थनमा लागि रहेका छन् ।
त्यसबाहेक विभिन्न गैरसरकारी संस्था व्यक्तिहरु उनको समर्थनमा प्रत्यक्ष अप्रत्यक्ष जोडिएको बताइने गरेको छ ।
सम्पर्क इमेल : [email protected]