डा. केसीलाई मेरो प्रश्न, ‘मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति असक्षम नै हुन् ?’

 

– हिमालय तिवारी

धेरैमा भ्रम छ मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति असक्षम हुन्छ । अरु त अरु स्वास्थ्यकर्मीमा पनि त्यो भ्रम भएको देख्न सकिन्छ । ‘तपाँईको मिर्गौला एउटा फेरेको कि दुईवटा फेरेको ?’ म मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति हुँ भन्ने थाह पाएपछि म कार्यरत अस्पतालका कतिपय सहकर्मीहरुले यसरी पनि प्रश्न सोधेका छन् । यसले मिर्गौला प्रत्यारोपणको विषयमा जनता कति सचेत छन् भन्ने छर्लङै हुन्छ ।

यस्तो समाजमा जव मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिको स्वास्थ्य अवस्था र उनीहरुको आत्म सम्मानमा ठेस लाग्ने गरी अभिव्यक्ति आउँछ तब म जस्ता सचेत व्यक्तिले मुख खोल्नैपर्ने बाध्यता सिर्जना हुन्छ ।

त्रिवि शिक्षण अस्पतालमा १७ औँ दिन देखि अनशनरत डा गोविन्द केसीले शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गरी जब प्रधानमन्त्रीको स्वास्थ्य र उनले खाएको औषधिको बारेमा कटाक्ष गरे हामी मिर्गौला प्रत्यारोपण गरेका तमाम व्यक्तिहरु दुखी भएका छौँ । त्यो कटाक्ष केपी ओली व्यक्तिका लागि थिएन । त्यो कटाक्ष तमाम मिर्गौला प्रत्यारोपण गर्ने व्यक्तिका लागि थियो । एउटा अभियानमा लागेर त्यो स्तरको नाम कमाएको व्यक्तिले मिर्गौला प्रत्यारोपण पछि खाने औषधि र स्वास्थ्यका बारेमा जसरी टिप्पणी गर्नुभयो त्यो खेद जनक छ ।

किनभने जव कुनै व्यक्तिको दुबै मिर्गौला काम गर्न नसक्ने गरी विभिन्न कारण बिग्रन्छन् तब स्वास्थ्य आफ्नो परिवार भित्रको व्यक्तिसंग एउटा मिर्गौला लिएर स्वास्थ्य जीवन बाँचिएको हुन्छ । तर त्यो जीवनलाई अक्षम र जीवनभर पीडादायी बनाउने गरी डा केसीले जो अभिव्यक्ति दिनु भएको छ । त्यो भत्र्सनायोग्य छ ।

बिगतमा कांग्रेस सांसद अमरेशकुमार सिंहले व्यवस्थापिका संसदमा यस्तै अभिव्यक्ति दिएका थिए । मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति स्वस्थ हुन सक्दैन भन्ने अभिव्यक्ति दिदै गर्दा सभामुखले रोकेपछि केस सेलाएको थियो । तर फेरी अहिले प्रत्यारोपण गरेको व्यक्तिको स्वास्थ्य र उसको मानसिक स्वास्थ्यका बारेमा चिकित्सा शिक्षाका अभियन्ता मानिने डा गोविन्द केसीले उठाउनु भएको छ ।

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीले खाएको औषधिको असरले निर्णय क्षमतामा कमि आयो भनेर गम्भीर प्रश्न उठाउनु भएको छ । यसले मिर्गौला प्रत्यारोपण गरी समाजमा अरु व्यक्तिसरह जिएका म जस्ता सयौँको मन दुखाएको छ ।

किनभने, निर्णय गर्न नसक्ने वा क्षमता कम हुनुलाई सुस्त मनस्थिति मानिन्छ । र यो एउटा मानसिक रोग समेतको रुपमा परिभाषित गरिन्छ । यदि प्रत्यारोपण पछि खाने औषधिले मानिसक समस्या ल्याउँछ र व्यक्ति सुस्त मनस्थिति हुन्छ भने किन फेल भएकाहरुले किन अंगप्रत्यारोपण गर्ने ? सरकारले प्रत्यारोपणका लागि किन प्रोत्साहन गर्ने ? मिर्गौला प्रत्यारोपण पछि व्यक्ति सशक्त क्रियाशील हुँदैन र स्वस्थ हुँदैन भने प्रत्यारोपण गर्ने कि नगर्ने भनेर सोच्नु पर्छ होला ।

मैले मिर्गौला प्रत्यारोपण गरेको ११ बर्ष भयो । म जस्तै मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको संख्या अहिले हजार नाघि सकेको छ । अहिले त नेपालमै पनि बार्षिक अढाई सय बढीको मिर्गौला प्रत्यारोपण हुन्छ । बाहिरबाट गराउनेको संख्या त्यत्तिकै छ । के ति सबै अस्वस्थ हुन ? असक्षम छन् ? नेपाल सरकारले मिर्गौला प्रत्यारोपणलाई निशुल्क गरेको छ । के मानसिक रोगी बढाउन यस्तो निर्णय गरको हो ?

त्यसैल डा केसी हामीले खाने कुन औषधिले दिमागमा असर गर्छ, त्यो हजुरले भन्ने होइन । हजुर जस्तो मान्छे आवेगमा आएर बोल्नु भएन । हजुरको हरेक कुरामा विश्वास गर्ने हाम्रो समाजमा धेै छन् । हजुरको यो अभिव्यक्तिपछि हामी मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिलाई समाजमा कसरी हेर्ला ? प्रत्यारोपण व्यक्तिले गरेका निर्णय वा क्षमतामा प्रश्न गर्न थाल्यो भने । त्यसको जिम्मा कसले लिन्छ ? तपाईँले लिने कि नलिने ?

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिलाई अहिले त समाजले अस्वस्थ देख्छ । समाजमा पुर्नस्थापना हुन गाह्रो छ । यस्तो अवस्थामा तपाईँ जत्तिको व्यक्तिले यसरी अभिव्यक्ति दिँदा सोच्नु पर्दैन । के हामी मिर्गौला प्रत्यारोपित व्यक्ति असक्षम छौँ ? मानसिक रोगी हौँ ? हामीले निर्णय गर्न सक्दैनौँ भन्ने के आधार छ हजुरसंग ?

तपाईँलाई थाह छ संयुक्त राष्ट्रसंघको उपमहासचिव भएका डा कुलचन्द्र गौतमले मिर्गौला प्रत्यारोपण गरेको धेरै भइसक्यो । सुहित न्यौपानले प्रत्यारोपण गरेको १२ बर्ष भयो । उनले त्यसपछि व्यापार सुरु गरे, विहे गरे छोरा पाए, अहिले छोरा स्कुल जान थालिसक्यो । करातेका पूर्व राष्ट्रिय खेलाडी ध्रुव विक्रम मल्ल पनि मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति हुन् । उनी अहिले पनि करातेँका अन्तराष्ट्रिय एम्पायर हुन् । रिङमा काम गरिरहेका हुन्छन् । विराट नगरका भारत दंगाल विहान ५ बजे देखि बेलुका १० बजेसम्म काम गर्छन । सहकारीको म्यानेजर मात्रै होइन उनी आफ्नै व्यापारमा समेत सफल छन् । उनीहरु अस्वस्थ भएको भए वा निर्णय क्षमता कमजोर हुने भए कसरी सफल भए ? अनि तपाईँलाई थाह छ कि छैन ? भारतीय विदेश मन्त्री सुषमा स्वराज पनि मिर्गौला प्रत्यारोपण गरिएको छ । उनी आफ्नो काममा त दक्ष नै ठानिन्छन् । स्वास्थ्य समस्या र औषधिको प्रभाव भएको भनेर त कसैले भनेका छैनन् । त्यसैले डा केसी आफ्नो भनाई तत्काल सच्याउनुहोस ।

हो, मिर्गौला प्रत्यारोपण गरको व्यक्तिले जीवनभर औषधि खानुपर्छ । तर कुनै रोगको लागि होइन । शरीरमा रहेको रोग प्रतिरोधात्मक शक्तिलाई दवाउनका लागि औषधि खानुपर्छ । त्यसैले अरु भन्दा अलि सम्वेदनशील हुनुपर्छ ।

संक्रमणबाट पनि जोगिनुपर्छ । नियमित चिकित्सकको सम्पर्कमा रहनुपर्छ । खानेकुरामा ध्यान निुपर्छ । सफा र ताजा खानुपर्छ तर बुझ्नुपर्ने कुरा के हो भने यी सबै रोग प्रतिरोधात्मक शक्ति कमजोर भएकोले हो । तर यसले शरीरमा मानसिक कुनै असर गर्दैन । तपाईँलाई भनु हामी अरु व्यक्ति भन्दा कुनै कुरामा कमजोर छैनौँ ।

डा. केसी ! एउटा कुरा भनु ? ‘तपाईँले आरोपित गर्नु भएका केपी ओली पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री भएको कसैको दयाले होइन । मिर्गौला प्रत्योरोपण गरेको व्यक्ति भनेर उहाँलाई टिठाएको होइन । उहाँ आफ्नै क्षमताले त्यहाँ पुगेको हो ।

म पनि तपाईँले कार्य गर्ने जस्तै स्वास्थ्य संस्थामा कार्यरत छु । त्यति मात्रै होइन स्वास्थ्यकर्मीहरुको संगठित संस्थाको उपल्लै स्थानमा छु । मलाई औषधिको प्रभाव देखिएको भए म त्यहाँ पुग्थे होला ?  के मेरो पद कसैको दयाले दिएको हो ? होइन मेरो क्षमताले पाएको हो । त्यसैले फेरी भन्न चाहन्छु । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुको क्षमतामा प्रश्न नगरियोस । तपाईँ हाडजोर्नीको डाक्टर हो मिर्गौलाको होइन । त्यसैले आफै सर्वज्ञानी नहुनुस ।

प्रत्यारोपित व्यक्ति विरामी होइन । किनभने प्रत्यारोपण पछि उ संग स्वस्थ मिर्गौला हुन्छ । र तपाईँको आफ्नो मिर्गौलाले जे काम गर्छ त्यस्तै काम उसको मिर्गौलाले पनि गर्छ ।

अन्तमा फेरी पनि सोध्छु, डा केसी मिर्गौला प्रत्यारोपण गरेकाले खाने औषधिको असरले निर्णय क्षमतामा असर गर्छ ? के हामी अक्षम छौँ ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *