डा. केसीले मागे प्रधानमन्त्रीको राजिनामा
काठमाडौँ, ११ माघ । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् ।
प्रतिनिधि सभाबाट राष्ट्रिय चिकित्सा विधेयक पारित भएपछि प्रतिक्रिया जनाउन केही बेर अघि गरिएको पत्रकार सम्मेलनमा उनले आफैले गराएका सम्झौँताबाट कार्यान्वनय गराउन प्रधानमन्त्री असफल रहेको भन्दै नैतिकताको आधारमा दिनुपर्ने बताएका हुन् ।
डा केसीका तर्फबाट उनका सहयोगी डा जीवन क्षेत्रीले विज्ञप्ती पढेका थिए ।
विज्ञप्तीमा उनले प्रधानमन्त्रीको निर्णय क्षमतामा स्वास्थ्य अवस्था र उनले लिएको औषधिको कारण भएको भन्ने गम्भीर आरोप लगाएका छन् ।
उनले आफूले पूर्ववत उठाएको छ बुँदे माग यथावत रहेको समेत जानकारी दिएका छन् ।
डा केसीले जारी गरेको विज्ञप्ती यस्तो छ ।
प्रेस विज्ञप्ति
आदरणीय आम नागरिक, दाजुभाइ तथा दिदीबहिनीहरु
नेपालको स्वास्थ्य र चिकित्स शिक्षा क्षेत्रको सुधार तथा सुशासनका लागि हामी निरन्तर संघर्षरत रहेकोमा हाम्रो विगत सात वर्षको संघर्षको प्रतिफल स्वरुप राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी हुने अवस्थामा पुगेको थियो । यसबीच सरकार आफैंले गठन गरेको विज्ञहरुको उच्चस्तरीय कार्यदलको प्रतिवेदनका साथै यस अगाडि सरकारहरुले जारी गरेका अध्यादेशहरुसमेतबाट दीर्घकालीन सुधारका लागि कस्तो ऐन आउनुपर्छ भन्ने तय भइसकेको अवस्था थियो । त्यसै आधारमा यस अगाडि १५ औं सत्याग्रह टुंग्याउने क्रममा नेपाल सरकारसँग बुँदागत सम्झौता भएको थियो ।
तर उक्त विधेयक पारित गर्ने काम अन्तिम अवस्थामा आएपछि प्रतिनिधि सभामा सत्तारुढ दलले जालझेल र जबर्जस्ती मात्रै गरेन, प्रधानमन्त्री तथा संसदीय दलको नेताले गराएको सम्झौता प्रतिकुल हुने गरी विधेयक पारित गर्यो । यसले सरकार तीन करोड नागरिकको गुणस्तरीय र सर्वसुलभ सेवा पाउने अधिकारलाई भन्दा बढी महत्व पार्टीसँग साँठगाँठ भएका अमुक मेडिकल कलेजहरुको स्वार्थलाई दिएको पुष्टि भएको छ । त्यसले सम्पूर्ण नेपाली नागरिकहरुमाथि नै सुनियोजित रुपमा धोका भएको छ । त्यसैले हामीले पौष २५ गतेदेखि शुरु गरेको सत्याग्रहलाई जारी राख्ने जानकारी गराउँदै तथा चिकित्सा शिक्षा विधेयकका अतिरिक्त हामीले राखेको बाँकी छवटा मागहरु पूरा गर्न स्मरण गर्छौं ।
तसर्थ आफैंले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत तथा आफ्नै विगतको निर्णयबाट विचलित प्रधानमन्त्री के पी शर्मा ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ । प्रधानमन्त्रीको निर्णय क्षमता उहाँको स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मुल्य राष्ट्रले चुकाइरहन पर्नु दुर्भाग्यपूर्ण कुरा हो ।
साथै, आज सत्याग्रहको पक्षमा प्रदर्शन गरिरहेका नागरिकहरुलाई धरपकड र गिरफ्तार गरिएकोमा तत्काल सकुशल रिहाइको माग गर्दै हाम्रो अभियानमा सहभागी हुन सबै नागरिकहरुलाई खूला अपिल गर्दर्छौं ।
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
२०७५ माघ ११
सम्पर्क इमेल : [email protected]
Could you please share the medical education bill passed today
Thank you