पोखरा महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न विशेष अभियान शुरु गर्दै
पोखरा, २१ पुस । पोखरा महानगरपालिकाले सुर्तीजन्य पदार्थको प्रयोगलाई न्युनिकरण गर्न विषेश अभियान शुरु गर्ने भएको छ । महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान तथा सूर्तिजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने र निश्चित क्षेत्रमा मात्रै सूर्तिजन्य पदार्थको बेच विखन गर्ने योजना तत्काललै सुरु गर्ने बताएको छ ।
सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न बनाइएको कानूनको प्रभावकारी कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख मानवहादुर जिसीले पोखरालाई ‘हेल्दी सिटी’को रुपमा विकास गर्न धूमपान नियन्त्रणको अभियानलाई तिव्रता दिने बताए ।
‘पोखरा साच्चिकै सुन्दर र सभ्य छ । अनि हामी स्वस्थ र स्वच्छ पोखरा निर्माणको अभियानमा छौँ । यो अभियानलाई कार्यान्वनयको चरणमा लैजान हामीले नसर्ने रोगको प्रमुख कारक रहेको सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गर्ने अभियान सुरु गर्दैछौँ । त्यसका ३२ वटै वडाबाट एक साथ अभियान सञ्चालन गर्ने छौँ । अभियानको सुरुवात सार्वजनिक स्थलमा धूमपान निषेधबाट गरिनेछ,’ महानगरपालिकाका प्रमुख जिसीले भने ।
अन्तरक्रिया कार्यक्रममा सहभागी पूर्व स्वास्थ्य मन्त्री एवं सांसद खगराज अधिकारीले पोखरा ‘हेल्दी र स्मार्ट सिटी’को रुपमा विकास हुदै गएको भन्दै महानगरपालिकाले स्वस्थ र स्वच्छ पोखरा अभियान अन्तरगर्त धूमपान नियन्त्रणको अभियान अघि सार्ने विश्वास व्यक्त गरे । उनले प्रतिव्यक्ति आय सबैभन्दा बढी भएको सुन्दर नगरी पोखराले नसर्ने रोग नियन्त्रण गर्ने अभियानलाई नेतृत्वदायी भूमिका लिने बताए ।
उनले महानगरपालिका, वडाका, युवाक्लव, आमा समूह, नागरिक समाजले हातेमालो गरी सूर्ती तथा मदिराजन्य पदार्थको उपभोगलाई नियन्त्रण गर्ने अभियान शुरु गर्नुपर्ने बताए ।
द युनियन एसिया प्यासेफिक क्षेत्रीय उपनिर्देशक डा. तारासिंह बमले धूमपान तथा सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न महानगपालिकाले देखाएको चासोप्रति खुशी व्यक्त गरे । ‘स्वच्छ समाज निर्माण गर्ने डाक्टर जनप्रतिनिधि हो,’ भन्दै उनले पोखरालाई हेल्दी सिटीको रुपमा विकास गर्न स्थानीय जनप्रतिनिधिहरु नै लाग्नुपर्ने बताए ।
उनले प्राकृतिक सौन्दर्यले भरिपूर्ण र स्वच्छ हराभरा पोखराले धूमपान नियन्त्रणका लागि पनि मुख्य भूमिका लिन सक्ने बताए । उनले सो अभियानका लागि आफ्नो संस्था महानगरपालिकासंग सहकार्य गर्न चाहेको समेत बताए ।
स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्रप्रसाद श्रेष्ठले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरकारले आवश्यक कानून बनाइसकेको तर त्यसको कार्यान्वनय हुन नसकेको बताए ।
उनले अव स्थानीय जनप्रतिनिधिहरुको साथ सहयोगले यसको कार्यान्वनय हुने विश्वास व्यक्त गरे । व्लुम्बर्ग इनिसिएटीभ अन्तरगर्त अहिले संसारका ५० वटा शहरहरु हेल्दीसिटीको रुपमा रुपान्तरण भईरहेको भन्दै अब पोखरा पनि त्यसमा जोडिनुपर्ने बताए । त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने समेत प्रतिवद्धता गरेका थिए ।
कार्यक्रममा मन्त्रालयका कानुनका उपसचिव पुष्करराज नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानुनको व्यवस्थाको बारेमा विस्तृत रुपमा व्याख्या गरेका थिए ।
यस्तै डा बद्री पौडेलले सूर्तिजन्य पदार्थ र नसर्ने रोगको सम्वन्धको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा सूर्तिजन्य पदार्थ नियन्त्रण अभियन्ता एवं एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द, महानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरुको संक्रिय सहभागीता थियो । उनीहरुले आफ्ना वडाहरुमा सूर्ति नियन्त्रण सम्वन्धी अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता समेत जनाएका थिए ।
सम्पर्क इमेल : [email protected]