यथास्थितिमा समायोजन प्रक्रियामा सहभागी नहुने स्वास्थ्य सम्बद्ध ११ वटा संगठनको घोषणा

काठमाडौँ, १३ पुस ।  स्वास्थ्य सम्वद्ध ११ वटा संगठनले कर्मचारी यथास्थितिमा समायोजन प्रक्रियामा सहभागी नहुने बताएका छन् । गत २३ मंसिरमा नेपाल राजपत्रमा प्रकाशित समायोजन अध्यादे २०७५ ले स्वास्थ्य सेवामा तहगत रुपमा कार्यरत कर्मचारीहरुलाई प्रशासन सेवाका कर्मचारी सरह व्यवहार नगरेको भन्दै समायोजनमा सहभागी नहुने बताएका हुन् ।

उनीहरुले आजै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई भेटेर सो जानकारी गराएका हुन् । सो अवसरमा उनीहरुले उपप्रधानमन्त्री यादव समक्ष ५ बुँदे संयुक्त ज्ञापन पत्र समेत बुझाएका छन् ।

त्यसरी विरोध गर्नेहरुमा सरकारी चिकित्सक संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल नर्सिङ संघ, मेडिकल ल्यावरेटरी एसोसिएशन अफ नेपाल , राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल स्वास्थ्यकर्मी संघ रहेको छ । नेपाल स्वास्थ्यकर्मी युनियन, मधेसी स्वास्थ्यकर्मी फोरम, स्वास्थ्यकर्मी युनियन नेपाल, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन रहेका छन् ।

उपप्रधानमन्त्री यादवलाई बुझाएको ज्ञापन पत्रमा कर्मचारी समायोजन अध्यादेश २०७५ दफा ३ को उपदफा ५ मा कर्मचारी समायोजन गर्दा तहगत दरबन्दी सृजना गर्नुपर्ने साथै दफा ७ को उपदफा ८ मा सेवाको तहमा सामायेजन गर्दा सम्वन्धित तहमा समायोजन गर्ने व्यवस्था भएतापनि सो अनुसार नभएकोले स्वास्थ्य सेवाको सबै तहमा दरबन्दी सृजना गरी समायोजन गर्नुपर्ने माग गरेका छन् ।

यस्तै  समायोजन गर्दा एक तह स्वतह बढुवा गर्नुपर्ने, संघ प्रदेश र स्थानीय तहको कर्मचारी सेवा सर्त सुविधा सम्वन्धी ऐन कानून बनेपछि मात्र कर्मचारी समायोजन गर्नुपर्ने लगायतका छन् ।

त्यसैगरी स्थानीय र प्रदेशमा समायोजन भएका स्वास्थ्यकर्मीहरुको बृत्तिविकास तथा सरुवा गर्दा संघमा पनि प्रवेश गर्न पाउने व्यवस्था गर्ने र स्वाथ्यकर्मीहरुको समायोजन स्वेच्छिक हुनुपर्ने लगायतका उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *