पाँच बुँदे माग अघि सार्दै सरकारी चिकित्सक संघ उत्रियो आन्दोलनमा
काठमाडौँ, ९ पुस । पाँच बुँदे माग अघि सार्दै सरकारी चिकित्सक आन्दोलित भएका छन् । उनीहरुले आजै विहान १ घण्टा वीर अस्पताल परिसरमा विरोध प्रदर्शन समेत गरेका छन् ।
सरकारी चिकित्सक संघ नेपाल गोदानको अगुवाईमा भएको विरोध प्रदर्शन कार्यक्रममा उपत्यकाका विभिन्न सरकारी अस्पतालमा कार्यरत र बाहिरबाट आएका करीर २५० जना चिकित्सकको सहभागीता थियो ।
उनीहरुले समायोजन अध्यादेश, स्वास्थ्य सचिव नियुक्ति, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा उपकुलपति नियुक्ति, स्वास्थ्य प्रतिष्ठान तथा चिकित्सकका सेवा सुविधा लगायतका मागहरु राखेका छन् ।
विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले सरकारकै रबैयाले चिकित्सकहरु आन्दोलनमा उत्रिन परेको बताए । उनले भने, ‘समायोजन अध्यादेशमा गलत भएको छ । त्यस्तै स्वास्थ्य समूहको सचिव हटाउने व्यवस्थामा गम्भीर त्रुटि भएको छ । यसले चिकित्सकहरुको मनोवल गिराएको छ,’ डा पाण्डेले अगाडी थपे, ‘यी विषयलाई सरकारले गम्भीरतापूर्वक नलिएका कारण हामी विरोधमा उत्रिएका हौँ ।’
उनले चिकित्सकलाई सुविधा राम्रो नदिने तर काम उत्कृष्ट खोज्ने गरेको आरोप समेत लगाए । लामो समय देखि चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान उपकुलपति विहीन भईरहेको र न्याम्स बाहिरबाट उपकुलपति ल्याउन लागिएको भन्दै त्यसमा समेत विरोध रहेको बताए ।
कार्यक्रममा राष्टिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेल, नेपाल चिकित्सक संघका उपाध्यक्ष डा ढुण्डी पौडेल, बरिष्ठ चिकित्सक डा केदार सेन्चुरी, बरिष्ठ चिकित्सक डा श्रीकृष्ण गिरी लगायतले बोलेका थिए ।
सम्पर्क इमेल : [email protected]