स्वास्थ्य सचिवको कुर्सीमा पुन: डा. पुष्पा चौधरी
काठमाडौँ, ६ पुस । स्वास्थ्य सचिवको कुर्सीमा पुन: डा. पुष्पा चौधरी बसेकी छन् । सो कुर्सीमा गत २४ मंसिर देखि स्वास्थ्य सचिवका रुपमा सरुवा भएर आएका अर्का सचिव केदारबहादुर अधिकारी बस्दै आएका थिए ।
सरकारको निर्णय गलत भएको र सर्बोच्चले दुई पटक आफ्नो पक्षमा फैसला सुनाई सकेपछि आफू सो कुर्सीको हकदार रहेको भन्दै डा चौधरी पुरानै कार्यकक्षमा गएर बसेकी हुन् ।
‘खासमा मेरो सरुवा गैरकानुनी हो भनेर सर्बोच्चले दुई पटक दिएको अन्तरिम आदेशबाट थाह भइसकेको छ । मैले तै पनि अफ्टेरो नपारुम भनेर मलाई उपयुक्त कोठाको व्यवस्था गरिदिनुस भनेकी थिएँ । तर त्यो भएन । त्यसैले बाध्यभएर म मेरै कोठामा बस्न आएकी हुँ,’ सचिव चौधरीले भनिन् ।
‘त्यसो त आज पनि अर्का सचिव अधिकारी मन्त्रालयमा पुगेका थिए । उनी निस्किएपछि डा. चौधरी गएर सो कुर्सीमा बसेकी हुन् । म त यता बैठकमा छु । कुर्सीमा डा चौधरी बस्नु भएको भन्ने सुनेको छु । अब सरकारले आवश्यक निर्णय गर्ला,’ उनले भने ।
गत २८ असोजमा प्रधानमन्त्री कार्यालय सरुवा भएपछि सचिव डा चौधरीले सो निर्णय विरुद्ध १५ कात्तिकमा सर्बोच्च गएकी थिइन । सर्बोच्चले १६ कात्तिकमै निर्णय कार्यान्वयन नगर्न सर्बोच्चको नाममा अन्तरिम आदेश दिएको थियो ।
त्यसको विरुद्ध सरकारले ५ मंसिरमा भ्याकेट हालेको थियो । सर्बोच्चले गतसाता अन्तरिम आदेश खारेज गर्न हालेको सो भ्याकेटको विपक्षमा आदेश दिएको थियो ।
सम्पर्क इमेल : [email protected]