केन्द्रीय अस्पतालमा डाक्टर छैनन्, उपचार गर्न कार्यालय सहयोगी (भिडियो)
काठमाडौँ, १३ मंसिर । केन्द्रीय आयुर्वेद अस्पताल नरदेवीमा डाक्टरको काम कार्यालय सहयोगीले गर्ने गरेको भेटिएको छ । अकुपञ्चर गर्न आएका विरामीलाई डाक्टर नभएपछि कार्यालय सहयोगी मोती श्रेष्ठले सेवा दिएका छन् ।
यसअघि अकुपञ्चर सेवा दिदै आएका डाक्टरद्धय जया सत्याल र काशी खतिवडा नवौँ तहमा बढुवा भएपछि मन्त्रालयमा हाजिर हुने गरेका छन् । अस्पताल स्वयंले सो अकुपञ्चर सेवाका लागि कुनै डाक्टर खटाएको छैन ।
‘पहिले पहिले अकुपञ्चरका लागि दैनिक ७० – ७५ जना विरामी आउँथे । हिजो आज ५ – ७ जनामै सिमित छ । यसका विशेषज्ञ डाक्टर हुनुहुन्न । अरु डाक्टरले हेर्नुहुन्न । त्यसैले कहिलेकाँही कार्यालय सहयोगी दाईनै अकुपञ्चरका लागि खटिनुहुन्छ,’ नरदेवीका एक कर्मचारीले बताए ।
उनले अस्पताल प्रशासनले यसबारेमा खासै चासो नै नदिएको आरोप लगाए । यसबारेमा अस्पतालका निर्देशक डा श्यामबाबु यादवसंग प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन ।
नरदेवीले विसं २०४३ सालबाट अकुपञ्चर सेवा सुरु गरेको हो । त्यतिवेलाका डाक्टर हरिषचन्द्र साहले यो सेवा शुरु गरेका थिए । नरदेवीको यो सेवा पछिल्लो समय बाथ तथा प्यारालाइसिसका विरामीहरुबीच निकै नै लोकप्रिय भएको थियो ।
नरदेवीमा आउने अधिकांश विरामीहरु यहि सेवा लिएर फर्किन्थे । तर अहिले उपचारका लागि विज्ञ डाक्टर नै नभएपछि सेवा लिनेको संख्या निकै घटेको छ ।
सम्पर्क इमेल : [email protected]