‘ठूलो संख्या’मा कर्मचारी सरुवा गर्दै स्वास्थ्य सेवा विभाग

काठमाडौँ, २९ कात्तिक । स्वास्थ्य सेवा विभाग एक पटक फेरी ठूलो संख्यामा कर्मचारी सरुवा गर्ने तयारीमा लागेको छ । समायोजन ऐन आउन ढिलाई हुने देखिए पछि विभाग नियमित तालिका अनुसार सरुवा गर्ने तयारीमा लागेको हो ।

स्रोतका अनुसार विभागका पदाधिकारीहरुले यसपटक पनि चौथो देखि सातौँ तह (पाँचौँ तहको आधार पद भएका) सम्मका १ हजार ५ भन्दा बढीको सरुवा गर्ने तयारी गरेका छन् । विभागका महानिर्देशक डा गुणराज लोहनीको अगुवाईमा सो एउटा टिमले सो तयारी गरिरहेको छ ।

‘सरुवाका लागि अनलाइनमा निवेदन दिनेको संख्या त ९ हजार बढी थियो । तर कतिपय व्यक्तिको निवेदन सफ्टवेरको गडबढीका कारण दोहोरो तेहेरो परेको छ । र कतिपय निवेदकहरु गत साउनको सरुवामा परिसकेका छन् । त्यसैले अहिले बाँकी निवेदकको संख्या करीब ४ हजारको हाराहारीमा छ । त्यसमध्ये पन्ध्र सय देखि २ हजारसम्मको संख्यामा सरुवा हुन सक्छ,’ सो टीमका एक सदस्यले भने ।

स्वास्थ्य सेवा ऐनले विभागलाई कर्मचारी सरुवा गर्न कात्तिक महिना तोकेको छ । यसपटक समायोजन ऐन आउने भनिएकाले शुरुमै सरुवाको तयारी भएको थिएन । तर सो ऐन आउन केही ढिलाई भएपछि हतार हतार सरुवाको तयारी गरिएको हो ।

‘गत साउनमा १ हजार ६२० जनाको सरुवा भएपछि अब बाँकी काम समायोजन ऐनले गर्दछ भनेर डीजी साव सहित हामी सरुवामा खासै लागेनौँ तर यो ऐन आउन ढिलाई हुन थालेपछि नियमित सरुवाको कार्य अघि बढाएका हौँ,’ ती सदस्यले भने ।

उनले महिला, गर्भवती, सुत्केरी, विरामी स्वास्थ्यकर्मीहरुलाई प्राथमिकताको पहिलो सूचीमा राखिएको बताए । ‘पश्चिम घर भई पूर्वमा काम गरेको महिलाले पश्चिम जान चाह्यो भने त्यस्तालाई गर्नुपर्छ । गर्भवती छ, सुत्केरी छ, विरामी छ भने पनि त्यो मानवीयता हेरेर मिलाउनु पर्छ भन्नेमा हामी छौँ ,’ उनले भने ।

तर उनले यसपटक पनि मन्त्री र मन्त्रालयका उच्च अधिकारीबाट सरुवाका लागि ठूलो लिष्ट गएको पुष्टी गरे । ‘सबैको गरेर मन्त्रालयबाट अहिले पनि ७-८ सय जनाको लिष्ट आएको छ । यी सबैलाई भनेकै ठाँउमा मिलाउने हो भने त फेरी पनि गडबडी हुन सक्छ । त्यसैले संख्याको बारेमा केही भन्नै सकिएन,’ उनले भने ।

गत साउनको सरुवाका बेला अन्तिम अवस्थामा मन्त्रालयबाट ठूलो संख्यामा लिष्ट एडजष्ट गर्नुपर्छ भन्दै गएपछि गडबडी भएको बताइएको थियो ।‘यसपटकको सरुवा विगतको कमजोरी र विगतको सरुवाले कतिपय ठाँउमा पारेका समस्यालाई समाधान गर्ने दिशामा केन्द्रीत हुन्छ,’ ती सदस्यले भने । 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *