लाइसेन्स परीक्षाको नयाँ व्यवस्थाबारे काउन्सिलले पुर्नबिचार गर्ने
काठमाडौँ, १२ कात्तिक । नेपाल मेडिकल काउन्सिलले विवादमा परेको चिकित्सा दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा सम्वन्धी नयाँ व्यवस्थाका सम्वन्धमा पुर्नबिचार गर्ने भएका छ । नयाँ व्यवस्थाको विरोधमा उत्रिएका युवा चिकित्सक तथा विद्यार्थीसंग आज भएको छलफल पछि पदाधिकारीहरुले पुर्नबिचार गर्ने निर्णय गरेका हुन् । काउन्सिलले आगामी बुधबार फुल हाउस मिटिङ बोलाएको छ ।
यसअघि काउन्सिलले स्वदेशमा एमबीबीएस तथा विडिएस अध्ययन पुरा गरेका भए छ महिने इन्टर्नसीप पछि र विदेशमा अध्ययन पुरा गरेका भए एक बर्षे इन्टर्नसीप पछि मात्रै लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।
नयाँ व्यवस्थाको लागू आगामी २२ मंसिरमा हुने परीक्षाबाटै लागू हुने बताएको थियो । सो व्यवस्थाको युवा चिकित्सक संघ, डाक्टर सोसाइटी अफ नेपाल लगायतका युवा चिकित्सकहरुको संस्थाहरुले विरोध गरेका थिए ।
काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले विद्यार्थी तथा चिकित्सकहरुले उठाएका विषयमा आगामी बुधबारको बैठकमा छलफल हुने र अन्तिम निर्णय गर्ने बताए ।
यता युवा चिकित्सक संघका अध्यक्ष डा. चेतन बस्नेतले आफूहरुको मागका विषयमा काउन्सिल पदाधिकारीहरु सकारात्मक रुपमा रहेको र आगामी बैठकले आवश्यक निर्णय गर्ने आश्वासन पाएको बताए ।
यसअघि युवा चिकित्सक संघले काउन्सिल प्रवक्ता डा. दिलिप शर्मालाई भेटी ज्ञापनपत्र बुझाएको थियो ।
सम्पर्क इमेल : [email protected]