बैतडीमा औषधि अभाव, बिरामीको संख्या बढ्यो

बैतडी, १८ असोज । समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढाइँदा बैतडीमा औषधि अभाव भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि औषधि अभाव हुँदै आएको हो । धेरैजसो स्वास्थ्य संस्थामा औषधि अभाव भएको सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन् ।

तल्लोस्वराड क्षेत्रका शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि औषधि अभाव रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका स्वास्थ्य सहायक मुकेश दयालले जानकारी दिए । गाउँपालिका भरिका स्वास्थ्य संस्थामा औषधि अभाव भएकाले खरिद प्रक्रिया अघि बढाइएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश भट्टले बताए ।

त्रैमासिक रूपमा आउने औषधि पछिल्लो समयमा नआएकाले स्वास्थ्य संस्थामा औषधि अभाव चुलिएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताए । समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढाइँदा स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो उनले भने, “अहिले पनि धेरैजसो सकिएको छ, दशैँअघि औषधि खरिद गर्न नसकिए निःशुल्क औषधि अभाव हुने निश्चित छ ।”

यस्तै पुरचौँडी नगरपालिकाका सबै स्वास्थ्य संस्थामा केही दिनमै औषधि सकिने अवस्थामा रहेका उक्त नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिए । स्वास्थ्यका कार्यक्रम अझैसम्म स्वीकृत नगरिएकाले तत्काल औषधि खरिद गर्न नसकिने र केही दिनमै औषधि अभाव हुने उनले बताए ।

जिल्ला अस्पतालमा पनि पार्याप्त मात्रामा औषधि नभएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा जगदीशचन्द्र विष्टले बताए । औषधि खरिद प्रक्रिया समयमा शुरु नहुँदा औषधि अभाव हुने गरेको उनको भनाई छ ।

उता क्षेत्रीय मेडिकल स्टोरमा खरिद भएका औषधिका लागि ढुवानी रकम नहुँदा वितरण प्रक्रिया प्रभावित भएको बताइएको छ ।

सरकारले जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्ने निर्णय गरे पनि सबै प्रकारका औषधि स्वास्थ्य संस्थामा नपाइनाका साथै अहिले अत्यावश्यक औषधि पनि अभाव हुन थालेको हो ।

बिरामी सङ्ख्या बढ्दो

जिल्लामा मौसमी ज्वरोका बिरामीको बढ्दै गएको छ । वर्षातको समयमा दूषित पानी सेवनले जिल्ला अस्पतालमा हाल दैनिक एक सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

उपचारका लागि आउनेमध्ये धेरैजसो ज्वरोका बिरामी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा विष्टले जानकारी दिए । नब्बे प्रतिशत बिरामीमा सफा पानी सेवन नगर्नाले समस्या देखिएको छ  उनले भने, “वर्षातको समयमा पानीका नयाँ मूलको पानी शुद्धीकरण नगरी पिउँदा यो समस्या आएको हो ।” मौसममा आएको परिवर्तनले रुघाखोकी, ज्वरो, झाडापखाला बिरामी बढेकाले खानपीनमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *