गन्धर्व वेद तथा राग चिकित्सासम्वन्धी कार्यशाला सम्पन्न

काठमाडौँ, १७ असोज । गत साता बुधबार कीर्तिपुरमा गन्धर्व वेद एंव राग चिकित्सा सम्बन्धि एक कार्यक्रमको आयोजना भएको छ। स्वतन्त्र विद्यार्थी युनियन आयुर्वेद क्याम्पसद्वारा आयोजित सो कार्यक्रममा चिकित्सकहरूले संगीत चिकित्सामा अन्तरक्रियाका साथै संगीतकारहरूद्वारा विभिन्न किसिमका रागहरूको समेत प्रस्तुति गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राडा जगदीश प्रसाद अग्रवालले आयुर्वेदमा भएको यस किसिमको चिकित्सा पद्धतिबारेमा आफू अनविज्ञ रहेको र आयुर्वेदलाई प्रोत्साहन गर्न राज्य तयार हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै बरिष्ठ आयुर्वेद चिकित्सक डा. ऋषिराम कोईरालाले संगीत चिकित्सामार्फत् आफुले पनि थुप्रै किसिमका मनोवैज्ञानिक, हर्मोनल लगायतका समस्याहरूको उपचार गरेको उदाहरणहरू प्रस्तुत गरे ।

नेपालकी प्रथम आयुर्वेदिक प्रसुती र स्त्री रोग विशेषज्ञ डा. सरिता श्रेष्ठले पनि आफुले संगीत चिकित्सामार्फत् विभिन्न रोगहरूको कसरी सफल उपचार गर्न सकिन्छ भन्ने विषयमा आफ्नो अनुभव सुनाइन ।

त्यसैगरी बरिष्ठ योग विशेषज्ञ डा. बिनोद घिमिरेले राग चिकित्सासम्बन्धि हालसम्म भएका अनुसन्धानहरू र त्यसका वैज्ञानिक आधारहरू प्रस्तुत गर्दै रागचिकित्सा र आयुर्वेदको संयोजन मार्फत् रोगहरूको सफल उपचार गर्नसकिने सम्भावना प्रस्तुत गरे ।

नेपालमै प्रथम पटक आयोजित यस कार्यक्रममा झण्डै १५० जना सहभागीहरूका बीच तबला बादक अच्युतराम भण्डारी र बासुरी वादक दुर्गाप्रसाद खतिवडाले राग यमन, भैरव, आनन्द भैरवी, दरवारी कान्दाह, मार्वा लगायत विभिन्न किसिमका रागहरू बजाएका थिए ।

कार्यक्रमको समापन गर्दै स्वतन्त्र विद्यार्थी युनियन आयुर्वेद क्याम्पसका कार्यवहाक अध्यक्ष डा। प्रशान्त बस्नेतले स्ववियूले आगामी दिनहरूमा पनि यस किसिमको कार्यक्रमको निरन्तरता गर्ने प्रतिबद्धता जनाउदै आयुर्वेदमा लुकेका पद्धतिहरूको अन्वेषण, अनुसन्धान गर्ने जिम्मेबारी नयाँ पुस्ताको भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *