‘मुटु रोगबाट बच्न व्यायाम जरुरी’

 

काठमाडौँ, १४ असोज । विश्व मुटु दिवसका अवसरमा नर्भिक इन्टरनेशनल अस्पतालले  आयोजना गरेको कार्यक्रमका वक्ताले मुटु रोगबाट बच्नका लागि खानपानमा सुधार तथा नियमित व्यायाम गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले मुटुको रोग, रक्तचाप, मधुमेह रोग हुँदैमा खानपानमा ध्यान दिन सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले नेपालमा ८० प्रतिशत नागरिक गाउँमा बसोबास गर्ने तथा ८० प्रतिशत चिकित्सक काठमाडौँमा बस्ने गरेका बताए । उनले १० हजार व्यक्ति बराबर दुई चिकित्सक रहेको बताए ।

राज्यमन्त्री यादवले जनताको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सरकार तथा निजी क्षेत्रद्वारा सञ्चालित स्वास्थ्य संस्था तथा अस्पतालसँग समन्वय गरी अघि बढ्नुको विकल्प नभएको प्रष्ट पारे ।

मुटुरोगबाट ग्रस्त भई नर्भिक अस्पतालमा स्वास्थ्य लाभ गर्नुभएका शिक्षाविद् प्रा रत्नमान डंगोलले मुटु रोगी समयमा नै अस्पताल पुग्नसकेमा जीवन बचाउन सकिने उदाहरण आफू नै भएको बताए । एकहत्तर वर्षको उमेरमा आफूलाई हृदयघात भएको र ९७ प्रतिशत ब्लक भइसकेको अवस्थामा नर्भिक अस्पतालमा पुगेर उपचार गर्दा नयाँ जीवन पाएको उनले अनुभव सुनाए ।

सो अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह, अध्यक्ष वसन्तकुमार चौधरी, चिकित्सक डा यादवदेव भट्ट तथा नियमित रोग जाँच गरिरहेका रोगी शङ्कर कृष्ण मल्ललगायतका वक्ताले मुटु रोगको रोकथाम तथा सरकार र स्वयं व्यक्तिको दायित्वबारे प्रकाश पारेका थिए। कार्यक्रममा राज्यमन्त्री यादवले उक्त अस्पतालमा उपचार गरी स्वास्थ्य लाभ गरिरहेका १० ज्येष्ठ नागरिकलाई मायाको चिनो प्रदान गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *