घोराही : जटिल प्रकारका रोगीलाई राहत

घोराही, १० असोज । सरकारले विपन्न परिवारको लागि भनेर विभिन्न प्रकारका जटिल रोगको उपचारको लागि राहत दिन थालेको छ । देश भरका विभिन्न अस्पताललाई सूचीकृत गरी क्यान्सर, ब्रेन ट्युमर, मुटु रोग, अल्जाइमर, थालेसिमिया, मिर्गौला, सिकलसेल, स्पाइनल इन्जुरीलगायत रोगका बिरामीलाई उपचारको लागि सिफारिश गर्ने गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासन शाखा अधिकृत मीनराज पाण्डेका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि चालू आवको असोज पहिलो सातासम्म जिल्ला जनस्वास्थ्य कार्यालयबाट विभिन्न रोगका ५४० बिरामीले उपचार पाएका छन् । अल्जाइमरको एक जना, क्यान्सरको २००, थालेसिमियाको एक, बे्रन ट्युमरको पाँच, मुटु रोगको ७८, मिर्गौलाको ६१, सिकलसेलको ३६, स्पाइनल इन्जुरीको आठ तथा हेडइन्जुरीको १२ बिरामीको उपचार गरिएको छ । उपचार गराउनेमा २९४ पुरुष र २४६ महिला रहेका छन् ।

बिरामीले कम्तीमा रु एक लाखसम्मको निःशुल्क उपचार सेवा पाउने गरेको शाखा अधिकृत पाण्डे बताउछन् । सो उपचार पाउन आफू बसिरहेको स्थानीय तहबाट विपन्न परिवार भएको सिफारिश, नागरिकता, जिल्ला बाहिरबाट आएको भए बसाइँसराइको कागज, बालबालिकाको भए जन्मदर्ता, अभिभावकको नागरिकता, रोग पहिचान भएको अस्पतालको सिफारिशसहितको कागजात आवश्यक पर्छ । ती सबै कागजपत्र जिल्ला जनस्वास्थ्य कार्यालयमा बुझाएपछि तोकिएको र पाएक पर्ने अस्पतालबाट बिरामीले निःशुल्क उपचार गराउन सक्ने व्यवस्था छ ।

हाल सरकारले निःशुल्क उपचारका लागि काठमाडौँस्थित वीरअस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कान्तीबाल अस्पताल काठमाडौँ, गङ्गालास राष्ट्रिय हृदय केन्द्र बासबारी, निजामती कर्मचारी अस्पताललगायतका देशभरका ७६ स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ ।

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अञ्चल अस्पताल पनि सरकारको सूचीकृत स्वास्थ्य संस्थामा छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिकलसेल र डायलाइसिस सुविधा मात्र उपलब्ध छ । विपन्न परिवारको लागि भनेर ल्याएको उक्त सेवामूलक निर्देशिकालाई जिल्ला जनस्वास्थ्य एवं स्थानीय निकायले व्यापक बनाउन सकेका छैनन् । जिल्लाबाट उक्त सेवाको सिफारिश पाउने बिरामीको सङ्ख्या न्यून छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *