सबै स्थानीय तहमा फार्मेसीको दरबन्दी हुनुपर्ने

लमही, ९ असोज । विश्व फर्मासिष्ट दिवसको अवसरमा नेपाल फार्मेसी सङ्घ दाङले आज चेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।

सो अवसरमा सङ्घका अध्यक्ष सुलभ अधिकारीले सबै स्थानीय तहमा फार्मेसीको दरबन्दी सिर्जना गर्नुपर्ने बताउँदै दरबन्दी भएमा मात्रै त्यहाँका नागरिकले सुलभ र सहजरुपमा स्वास्थ्य सेवा पाउने विचार व्यक्त गरे ।

अहिले फर्मासिष्टबाहेक अन्य व्यक्तिले पनि औषधि वितरण गर्ने कार्य गरिरहेका कारण बिरामीले रोगअनुसारको औषधि पाउन नसकेको उल्लेख गर्दै उनले रोगको पहिचान गरी नागरिकलाई औषधि वितरण गर्न स्थानीय तहले फर्मासिष्टको दरबन्दी व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

सरकारी अस्पतालमा फार्मेसी सञ्चालनमा ल्याए पनि दरबन्दी सिर्जन नगर्नु दुःखद् पक्ष भएको बताउँदै सङ्घका उपाध्यक्ष राजीमान बुढाले अहिले सरकारले सञ्चालनमा ल्याएका कुनै पनि फार्मेसीमा दरबन्दी नरहेको बताए । फार्मेसीजस्तो संवेदनशील क्षेत्रमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै उनले फार्मेसी तथा सहायक फार्मेसीको सेवा सुविधा पनि निर्धारण गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

सङ्घका सचिव अजय केसीले अझै पनि आम नागरिकले फर्मासिष्टको काम, कर्तव्य र अधिकार के हो भन्नेबारेमा जानकारी नपाएको बताउँदै प्रत्यक्षरुपमा नागरिकको सेवामा खटिए पनि फर्मासिष्ट को हुन्, के गर्छन्, भन्ने कुराको जानकारी आम नागरिकलाई छैन भने ।

दाङमा अहिले ३५ जना फार्मसिष्ट कार्यरत छन् । दाङको लमही अस्पताल, राप्ती उपक्षेत्रीय अस्पताल घोराही र राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सरकारी औषधालय सञ्चालनमा छन् ।

‘जहाँ औषधि, त्यहाँ फर्मासिस्ट’ भन्ने मूल नाराका साथ सो दिवस मनाइएको हो । सङ्घ औषधालयकोे सुधारका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएको छ । ज्ञापनपत्र बुझ्दै दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले औषधालयमा देखिएका समस्या समाधानका लागि तिनै तहको सरकारसँग सहकार्य गर्ने बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *