जिल्ला स्वास्थ्य साविककै अवस्थामा राख्ने पहल गर्दैछौँ : स्वास्थ्य राज्यमन्त्री
चौतारा, ७ असोज । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले जिल्लास्थित जनस्वास्थय कार्यालय आवश्यक हुँदा हुँदै पनि खारेज भएकाले साविकको अवस्थामा राख्न पहल गरिएको बताएका छन् ।
राज्यमन्त्री डा. यादवले शनिबार सिन्धुपाल्चोकको चौतारा अस्पताल हाताभित्र अमेरिकी मेडिकल फाउण्डेशनको रु ८५ लाख रुपैयामा निर्मित दुई प्रि फ्याव भवन उद्घाटनका अवसरमा उक्त कुरा बताएका हुन् ।
सो अवसरमा राज्यमन्त्री डा. यादवले देशका सबै नगरपालिका र गाउँपालिकाका वडामा स्वास्थ्यचौकी स्थापना गर्ने मन्त्रालयको लक्ष्य रहेको उल्लेख गर्दै दुई हजार ३०० वडामा अझै स्वास्थ्यचौकी नभएकाले यस वर्ष एक हजार २०० वडामा निर्माण गर्ने लक्ष्य रहेको बताए ।
औषधि अभाव हुन नदिन आवश्यक बजेट सबै नगरपालिका र गाउँपालिकामा निकासा पठाइसकेको उल्लेख गर्दै आवश्यक कर्मचारीको व्यवस्था गर्न मन्त्रालय लागिपरेको उनले स्पस्ट पारे ।
जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङको सभापतित्वमा भएको सो कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक मोहम्मद दाउदले आधारभूत स्वास्थ्य पाउने जनताको अधिकार भएको चर्चा गरे ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि सो अस्पताल जस्ताको टहरा र टेण्टबाट सञ्चालन हुँदै आएको थियो । रासस
सम्पर्क इमेल : [email protected]