३८० विद्यालयमा आयुर्वेद तथा योग शिक्षा लागू गर्दै सरकार
काठमाडौँ, ४ असोज । सरकारले चालु आर्थिक वर्षमा ३८० भन्दा बढी विद्यालयमा आयुर्वेद तथा योग प्रशिक्षण कार्यक्रम शुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद विभागले यो कार्यक्रम शुरु गर्न लागेको हो ।
बढ्दै गएको नसर्ने रोगको जोखिम कम गर्नका लागि खानपान तथा जीवनशैली परिवर्तन गराउने उद्धेश्यले यो कार्यक्रम शुरु गर्न लागिएको विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले बताए ।
उनका अनुसार देशभर रहेका ३८० वटा आयुर्वेद संस्थाले आफ्नो नजिकको कम्तीमा एक विद्यालयमा गएर साप्ताहिक रुपमा आयुर्वेद तथा योग कक्षा सञ्चालन गर्नेछन् । उनीहरुले यो कक्षामा विद्यार्थी संगै शिक्षकलाई समेत सहभागी गराउनेछन् ।
‘खासमा अहिले बढदै गएको नसर्ने रोगको जोखिम न्युनिकरण गर्ने चुनौती हो । त्यसका लागि योग व्यायम, जीवन शैली आदिका कुराहरु मुख्य रुपमा आउँछ । त्यसैमा केन्द्रीत रहेर योग तथा आयुर्वेदिक कक्षा सञ्चालन गर्ने हाम्रो योजना हो,’ महानिर्देशक डा. उपाध्यायले भने ।
विभागले यसका लागि प्रत्येक आयुर्वेदिक संस्थालाई ८५ हजार बजेट समेत उपलव्ध गराएको जनाएको छ । विद्यालयमा साप्ताहिक रुपमा निश्चित दिन र समयमा योग प्रशिक्षण गराइने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]