जाजरकोट : विद्युत् नहुँदा स्वास्थ्य सेवा प्रभावित
जाजरकोट , २९ भदौ । गत साउन २८ गते आएको बाढीका कारण विद्युत्को नहर र पोलहरु बगाएपछि नलगाड नगरपालिकाको स्वास्थ्य सेवा प्रभावित भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे, ल्याब सेवालगायत अन्य सेवासमेत प्रभावित भएका छन् । लामो समयदेखि विद्युत् सेवा सुचारु हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित भएको हो । दैनिक एक्सरेका लागि आउने बिरामीलाई विद्युत्को अभावमा सेवा दिन मुस्किल भएको केन्द्रले बताएको छ ।
एक्सरे गर्न रुकुमको चौरजहारी, जाजरकोट सदरमुकाम आउनु पर्ने वाध्यता रहेको छ । त्यस्तै नलगाड नगरपालिकाको दैनिक कामसमेत प्रभावित भएको छ । दैनिक सेवा लिन आएका स्थानीयहरु हैरान भएका छन् । यहाँ रहेको छापाखाना समेत वन्द भएको छ ।
जेनेरेटर चलाएर केही समय सेवा प्रवाह गरेपनि अधिकांश समय सेवा प्रभावित हुँदै आएको छ । नेपाल प्रहरीको सञ्चार सेवासमेत विद्युत् आपुर्ति नहुँदा अवरुद्ध भएको छ । विद्युत् नहुँदा यहाँका स्थानीयहरु मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्नसमेत नपाएको कालीमाटीका शिक्षक दिनेश ओलीले बताए । नगरपालिकाकाभित्रका सबै सरकारी सेवासमेत ठप्प भएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलका अनुसार नलगाड नगरपालिकामा विद्युत् सेवा सुचारु गर्न ऊर्जामन्त्री वर्षमान पुनले विद्युत् प्राधिकरणलाई तत्काल ३० वटा पोल र आवश्यक मात्रामा तार उपलव्ध गराउन आदेश दिएका छन्।
आज नै विद्युत् प्राधिकरणले नेपालगञ्ज कार्यालयलाई पोल र तारका दिन परिपत्र गर्ने उनको भनाइ छ । आज नै आवश्यक सामग्री लिएर जाजरकोट जाने तयारी भएको रावलको भनाइ छ । यहाँका तीनबाट विद्युत् आयोजनामा भएको क्षतिको मर्मत स्थानीय तहबाट सो गर्न बजेट अपुग हुने भएपछि केन्द्रसँग आग्रह गरिएको नलगाडका नगरप्रमुख टेकबहादुर रावलले बताए। रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



