बिपी कोइराला क्यान्सर अस्पताल भवनको लागत १२ करोड बढ्ने

चितवन, ८ भदौ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित भवन सम्झौता मितिभन्दा दोब्बर समय लागेको छ । जसका कारण लागत मूल्यमा रु १२ करोड बढी थपिने भएको छ ।

विसं २०६९ फागुनमा ३३ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । भवनको ठेक्का प्रेरा आशिष जेभीलाई परेको थियो । अस्पतालका तर्फबाट भवन हेर्दै आउनुभएका रमेशराज पाण्डेका अनुसार सम्झौताका बेला लागत मूल्य रु ६० करोड १९ लाख थियो । भवन सम्पन्न हुन ६६ महिना लाग्यो । जसका कारण लागत बढ्ने बताइएको छ ।

निर्माण कम्पनीका परियोजना व्यवस्थापक सुभाष पोख्रेलका अनुसार भवन सम्पन्न भई लागत मूल्य निकाल्ने काम भइरहेको छ । उनका अनुसार रु ७२ करोड हाराहारी खर्च आउने देखिएको छ । समय दोब्बर लाग्नु र नक्साङ्कनमा गरिएको फेरबदलले मूल्य बढन गएको हो । पोख्रेलले बीचको समयमा अस्पतालले गर्नुपर्ने कतिपय नीतिगत निर्णय नगरेकाले काममा ढिलाइ भएको बताए ।

अस्पताल १५ महीना सञ्चालक समितिबिहीन बनेको थियो । अस्पतालका अध्यक्ष डा प्रकाशराज न्यौपानेले बीचको समयमा सञ्चालक समितिको अलमलका कारण निर्णय लिन नसक्दा काममा ढिलाइ भएको बताए। सरकारी नियमअनुसार नै मूल्य बढेको बताउँदै उनले यसमा कुनै अनियमितता भने हुन नपाएको जिकिर गरे ।

भवन सम्पन्न भएसँगै अस्पतालमा २५० श्यया बढ्नेछ । हाल अस्पातालमा २२५ श्यया सञ्चालनमा छ । पाँच तले सो भवनमा शल्यक्रिया, सघन उपचार, शल्यक्रिया गर्नुअघि र पछि बिरामी राख्ने र विभागीय प्रमुखको कक्ष छन् । त्यस्तै सभा हल, चिकित्सक छलफल कक्ष, तथ्याङ्क शाखा, रेडियो थेरापी बङ्करसमेत छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *